भक्तपुर- पालिका चुनावमा ठूला राजनीतिक दलबाटै आचारसंहिताको व्यापक उल्लंघन भइरहेको खुलासा भएको छ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले यसको खुलासा गरेकी हुन्। जिल्ला प्रशासन कार्यलय र जिल्ला निर्वाचन कार्यालयले बुधबार आयोजना गरेको निर्वाचनबारे सञ्चारकर्मीसँगको अन्तरक्रियामा प्रजिअ शर्माले निर्वाचनलाई प्रभावित पार्ने गरी मतदातालाई कम्बल र थर्मस बाँडिरहेको जानकारी पाएपछि त्यसलाई प्रहरी पठाएर रोकिएको जानकारी दिइन्।
केही दलले आचारसंहिता विपरीत काम गर्न खोजेकाले यस्ता कार्यक्रमलाई रोक लगाएको उनले बताइन्। ‘जिल्ला प्रशासन कार्यालयसँग अनुमति नलिई भक्तपुरका सूर्यविनायक र चाँगुनारायणका केही वडामा मतदातालाई प्रभावित पार्ने गरी कम्बल र थर्मसलगायत सामग्री बाँड्दै गर्दा हामी तत्कालै पुगेर रोक्यौँ, यहीबीचमा अनुमति लिन आएका करिब २० वटा कार्यक्रमलाई समेत निर्वाचनमा प्रभावित पर्ने देखेर रोक लगाएका छाँै, सम्मान र पुरस्कार वितरणजस्ता कार्यक्रमलाई पनि रोक लगाएर चुनावपछि गर्न भनेका छौँ, निर्वाचन आचारसंहिता विपरीत दलको गतिविधि समेतलाई रोक लगाउँदै आएका छौँ,’ उनले भनिन्।
महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी शिवकुमार श्रेष्ठले ठूला दलबाटै आचारसंहिता उल्लंघन भइरहेको जानकारी दिँदै १९ वटा ठाउँबाट आचारसंहिता उल्लंघन गरी राखिएका दलहरूका प्रचार सामग्री हटाइएको जानकारी दिए।
‘पार्टीका झण्डा, चुनाव चिह्न, फ्लेक्सलगायत प्रचार सामग्री १८–१९ ठाउँबाट हटाएका छौँ, कतिपय ठाउँमा त्यस्ता चुनाव चिह्न राखेका दलका स्थानीय नेता कार्यकर्तासँग त कतिपय ठाउँमा जिल्ला तहका नेतासँग कुरा गरेर हटाएका छाँै, यस्ता सामग्री राखेर आचारसंहिता उलंघन गर्नेमा मुख्य ६ दलकै छन्,’ उनले भने। प्रचार सामग्री हटाउन ठूला दलहरूले नै अटेर गर्ने गरेको उनको भनाइ छ।
भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधिश तथा मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले विगतका निर्वाचनभन्दा कर्मचारी आधा कम तर काम धेरै हुँदा कार्यसम्पादनमा चाप परेको बताए। ‘आचारसंहिता उल्लंघन रोक्न सकदो प्रयास गरेका छौँ, दलहरूले नै बनाएको आचारसंहिता पालना दलहरूले गर्नुपर्ने हो, राजनीतिक दल, पत्रकार, सचेत नागरिकले आचारसंहिता उल्लंघन भएको पाइए जानकारी गराउनुहोस्, हामी तत्काल रोक्छौँ, आवश्यक परे कारबाही गर्छौं,’ उनले भने।
राससबाट