पश्चिमा अधिकारीहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ९ मेभित्र युक्रेनमा युद्धको घोषणा गर्न सक्ने बताएका छन्।
हालसम्म पुटिनले युक्रेन युद्धलाई विशेष सैन्य अभियान बताउँदै आएका छन्। युद्धकै घोषणा गरेपछि पुटिनले रुसको रिजर्भ फोर्सलाई पूर्ण क्षमतामा युद्धमा होम्ने अधिकारीहरूको भनाइ छ।
अमेरिका र युरोपका सुरक्षा अधिकारीहरूको भनाइमा ९ मेमा रुसको विजय दिवस अगावै युक्रेनमा औपचारिक रूपमा युद्ध घोषणा गर्ने मनस्थितिमा पुटिन छन्। सन् १९४५ मा जर्मनीको नाजी शासन ढलेर दोस्रो विश्वयुद्धको अन्त्य भएको दिनलाई युरोपमा विजय दिवस मनाउने गरिन्छ। रुसमा भने त्यसको भोलिपल्ट विजय दिवस मनाइन्छ।
विजय दिवसलगत्तै आफ्नो सेनालाई पूर्ण क्षमतामा युक्रेनमा युद्धका लागि होम्ने तयारीमा पुटिन हुन सक्ने पश्चिमा अधिकारीहरूको भनाइ छ।
९ मेपछिको परिदृश्यमा आफूहरूको ध्यान केन्द्रित रहेको अमेरिका र युरोपका उच्च सुरक्षा अधिकारीहरूको भनाइ छ।