काठमाडौं- धादिङको नीलकण्ठ नगरपालिकामा उपमेयरमा कल्पना अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएकी छन्। उनले कांग्रेसबाट टिकट नपाएपछि विद्रोह गरी स्वतन्त्र उम्मेदवार बनेकी हुन्।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अधिकारीले कांग्रेसमा निरन्तर २० वर्षदेखि खटिएको उल्लेख गरिन्। पार्टी र संगठनको भावना मर्न नदिन स्वतन्त्र उम्मेदवार बनेको बताइन्।
आफ्नो उम्मेदवारी पार्टीलाई खबरदारी गर्नका लागि भएको उनले बताइन्। सत्ता साझेदार दलबीचको चुनावी गठबन्धनप्रति असन्तुष्टि जनाउँदै उम्मेदरवारी आफ्नो निम्ति नभई संगठनको बचाउको लागि भएको दाबी गरिन्। ‘पार्टी भित्र बसेर दलीय भागबण्डामा आफ्नो पार्टीलाई लिलाम गर्ने हो कि, संगठन पनि बिग्रने हो कि भन्ने विषयको खबरदारी मैले गर्न खोजेको हो,’ उनले भनिन्।
आफूले खुशीसाथ रुख चिह्न लिएर चुनाव लड्न र मतदान गर्न नपाएकामा असन्तुष्टि जनाइन्। गठबन्धनमार्फत पार्टीले ३३ प्रतिशत महिला प्रतिनिधित्वको व्यवस्था पनि कुण्ठित गराएको आरोप लगाइन्।