काठमाडौं- आजभोलि धेरै महिलाहरूमा तल्लो पेटको दुखाइ साझा समस्याका रूपमा देखिएको छ। गाउँ होस् या शहर, तराई होस् या पहाडका महिला। प्रायः धेरैजसोमा तल्लो पेटको दुखाइले उनीहरूको दैनिकी असहज बनाइदिएको छ।
जुन-जुन महिलामा तल्लो पेट दुख्ने समस्या छ, उनीहरूले समयमै उपचार गराउन आवश्यक छ। समस्या च्यापेर बस्यौं भने त्यसले जटिल रूप लिन सक्छ।
के हो तल्लो पेटको दुखाइ ?
महिलाहरूमा तल्लो पेटको दुखाइ पीआईडी संक्रमणका कारण हुन्छ। नेपालका थुप्रै महिला तल्लो पेटको दुखाइबाट ग्रसित छन्, जसलाई पाठेघरको दुखाइ पनि भनिन्छ। प्रायः धेरै महिलामा यो समस्या देखिँदै आएकाले पनि यसलाई महिलाहरूको साझा स्वास्थ्य समस्याका रूपमा लिन सकिन्छ।
तल्लो पेट दुख्ने महिलाहरूमा योनीबाट सेतो फोहोर पानी बग्ने, चिलाउने, गन्हाउने र ढाड दुख्नेजस्ता समस्या देखिन्छन्। ओपीडीमा आउने बिरामीमध्ये ४० देखि ५० प्रतिशत महिलाहरू तल्लो पेट दुख्ने समस्या लिएर अस्पताल आइरहेका हुन्छन्। महिनावारी भएको समय वा यौन सम्बन्ध राख्दा पनि तल्लो पेट अत्यधिक दुख्न सक्छ। तर, महिनावारीको समयमा र यौन सम्बन्ध राख्दाबाहेकको अवस्थामा पनि तल्लो पेट दुख्नुको फरक कारण हुन सक्छ।
कारण
पीआईडी संक्रमणका कारण तल्लो पेट दुख्नुका विभिन्न कारण हुन सक्छन्। तर, यौन सम्बन्ध राख्दा परिवार नियोजनका कुनै साधन प्रयोग गरिएको छैन भने त्यो अवस्थामा पाठेघरको संक्रमण हुने, हाइजिन मेन्टेन नगरेमा, शरीरको इम्युनिटी पावर कमजोर छ भने महिलामा संक्रमण भई तल्लो पेट दुख्ने समस्या देखापर्न थाल्छ।
तल्लो पेटको दुखाइबाट छुटकारा पाउन सकिन्छ। यसका लागि समयमै अस्पताल आई के कारण तल्लो पेट (पाठेघरको दुखाइ) देखिएको हो भन्ने पहिचान हुन आवश्यक छ। उपचारपछि निको नहुने शायदै कम रोग होलान्। त्यसकारण तल्लो पेट दुख्ने समस्यालाई पनि उपचारबाट निको पार्न सकिन्छ।
इन्फेक्सन भएका महिला अनि उनका श्रीमान् दुवैले ट्रिट्मेन्ट लिए भने अनि तीन महिनासम्म कन्डोमको प्रयोग गरे भने इन्फेक्सन निको पार्न सकिन्छ।
धेरैजसो महिलामा महिनावारीको समयमा पनि तल्लो पेट दुख्ने समस्या हुन्छ। त्यो पनि कम उमेरका महिलामा महिनावारीको समयमा तल्लो पेट दुख्नुलाई राम्रै मानिन्छ। तर, १७-१८ देखि २५-२८ वर्षसम्मको उमेरमा महिनावारीमा पेट दुख्नुलाई स्वास्थ्यका हिसाबले स्वाभाविक मानिँदैन।
तर, पहिले महिनावारीमा पेट दुख्थेन, अहिले आएर एक्कासी दुख्न थालेको छ भने त्यसको पछाडि कारण हुन सक्छ। कुनै-कुनै केसमा पाठेघरमा ट्युमर भयो भने पनि महिनावारी भएको वा अन्य समयमा पनि तल्लो पेट दुख्न सक्छ। यसका लागि अल्ट्रा साउन्डद्वारा हेर्न सकिन्छ। यदि ट्युमर छ भने त्यो अवस्थामा अप्रेसन विधिबाट उपचार गरिन्छ।
पाठेघरको इन्फेक्सन मात्र भएर तल्लो पेट दुख्ने समस्या देखिइराखेको हो भने औषधि चलाएर मात्र पनि निको पार्न सकिन्छ। औषधि बिरामीको स्वास्थ्य जटिलता हेरेर चलाउनुपर्छ।
महिनावारीको समयमा तल्लो पेट दुख्दा अझै पनि गाउँघरमा झारफुक गर्नेहरूबाट घरेलु उपचारस्वरूप जडीबुटी भन्दै खाने प्रचलन हट्न सकेको छैन। कुन बिरुवाले कस्तो असर पुर्याउन सक्छ, त्यसको हेक्का सर्वसाधारणलाई नहुने भएकाले सकेसम्म घरेलु उपचारको फन्दामा नपरेकै राम्रो।