नेपालगञ्ज- पालिका चुनावको मुखमा राजनीतिक आस्था, सिद्धान्तभन्दा पदका लागि दल अदलबदल गर्नेको संख्या बढ्दो छ। पालिका चुनावमा आस्था र सिद्धान्तसँग मेल नखाने पार्टीमा प्रवेश गरेर उम्मेदवार बनेका प्रशस्त उदाहरण छन्।
राजनीतिक सिद्धान्त नै नबुझेकालाई पार्टीमा भित्र्याएर टिकट दिन राजनीतिक दलहरू अग्रसर देखिए, यसपालि। यसले सिद्धान्त बोकेका पुराना नेता-कार्यकर्तालाई निराश बनाएको छ।
बाँकेमा पनि पदका लागि अन्तिम समयमा पार्टी परिवर्तन गरी टिकट पाएको प्रशस्त उदाहरण देखिए। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेपालगञ्ज उपमहानगरको मेयरमा उम्मेदवारी दिएका नन्दलाल बैश्य अघिल्लो दिनसम्म माओवादी केन्द्रमा थिए। सत्ता गठबन्धनका दलबीच उपमहानगरको भागबण्डामा नेपालगञ्जको मेयर कांग्रेस र उपमेयर जसपाको भागमा परे। माओवादी केन्द्रबाट मेयर नपाउने निश्चित भएपछि उनी राप्रपा प्रवेश गरे। र, राप्रपाको तर्फबाट नेपालगञ्जको मेयरमा उम्मेदवारी दिए। उनी नेपालगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हुन्।
राप्रपा प्रवेश गरेपछि उनले आफू सुहाउँदो पार्टी पाएको प्रतिक्रिया दिए। उनी हिन्दू धर्ममा कट्टर छन्। ‘अहिलेसम्म म भड्किएको थिएँ। मेरो सिद्धान्त र व्यवहार मिल्ने पार्टी बल्ल पाएको छु,’ उनले भने।
यस्तै, राप्रपा नेपालबाट नेपालगञ्जको उपमेयरमा उम्मेदवारी दिएकी रमारानी बैश्य अघिल्लो दिनसम्म जसपामा थिइन्। उनी उपमेयरको दाबेदार थिइन्। गठबन्धनले नेपालगञ्जको उपमेयर जसपालाई दिने र उपमेयरमा मेयरका दाबेदार मोहम्मद कमरुद्धिन राई उम्मेदवार बन्ने निश्चित भएपछि उनी रातारात जसपा छोडेर राप्रपा नेपालमा प्रवेश गरिन्।
जसपा छोडेको भोलिपल्ट उनले राप्रपा नेपालको तर्फबाट नेपालगञ्जको उपमेयरमा उम्मेदवारी दिइन्। उपमेयर पाउने शर्तमा जसपा त्यागेर राप्रपा नेपालमा प्रवेश गरेको उनले बताइन्। ‘जसपाबाट उपमेयर नपाउने निश्चित भएपछि राप्रपा नेपालले उपमेयर दिन्छु भन्यो, त्यही शर्तमा राप्रपा नेपाल प्रवेश गरेँ र उपमेयरमा उम्मेदवारी दिएँ,’ उनले भनिन्।
नेपालगञ्ज उपमहानगरपालिका १२ का निर्वाचित वडाध्यक्ष बुद्धिसागर सुवेदी १० वैशाखसम्म कांग्रेसमा थिए। उनी वडाध्यक्षमा दोहोरिने मुडमा थिए। तर, पार्टीले उनलाई वडाध्यक्षको टिकट नदिने निश्चित भएपछि कांग्रेस परित्याग गरी जसपामा प्रवेश गरे। वडाध्यक्षको टिकट पाउनकै लागि कांग्रेसको लामो राजनीति उनले क्षणभरमै छाडे। मनोनयनको एक दिनअघि प्रवेश गरेका उनले जसपाको तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिए।
त्यसैगरी, नेपालगञ्ज उपमहानगरपालिका १७ का निर्वाचित वडाध्यक्ष अजय पाठकले पनि ११ वैशाखमा माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरे। एमालेले वडाध्यक्षको टिकट दिने सहमतिमा उनले माओवादी त्यागेका थिए। पाठकले एमालेको तर्फबाट नेपालगञ्ज उपमहानगरपालिका १७ को वडाध्यक्षमा उम्मेदवारी दिएका छन्।
नेपालगञ्ज उपमहानगरपालिका १० का खुमानन्द काफ्लेले ११ वैशाखमा एमाले छाडे। वडाध्यक्षका लागि तयारी गरेका उनी टिकट नपाएपछि जसपामा प्रवेश गरी वडाध्यक्ष उम्मेदवार बने।
यस्तै, टिकट नपाउने संकेत पाएपछि कांग्रेस राप्तीसोनारी गाउँपालिका ६ का सभापति लवराज खरेलले पार्टी छाडे। वडाध्यक्ष दिने शर्तमा उनी राप्रपामा प्रवेश गरे। अघिल्लो दिनसम्म कांग्रेसको राजनीति गरेका उनी रातारात राप्रपामा प्रवेश गरेर वडाध्यक्ष उम्मेदवार बने।