काठमाडौ- पृथ्वीमा रहेका चट्टान किताबजस्तै हुन्, जसले आफ्नो सम्पूर्ण कथा बताउँछन्। यस्तै, पहाड, उपत्यका र अन्य भूभागहरू बनाउने माटो किताबका पानाजस्तै हुन्, जसले सम्पूर्ण कथाको एक परिदृश्यका बारेमा बताउँछन्।
सम्झनुहोस् त, सम्पूर्ण कथा बोकेको किताबबाट कुनै एउटा मात्रै पाना हरायो भने कस्तो हुन्छ। यसका बारेमा हामीले पढेका त हुन्छौँ। तर, बुझ्न सकिँदैन। यस्तै, पृथ्वीको क्रस्टको छेउमा रहेका चट्टानहरू पुस्तकको शुरुका पाना हुन्। पछिल्ला तहहरूको बारेमा थाहा पाएर हामी पृथ्वीको बारेमा थप जान्न चाहन्छौँ।
पृथ्वीको भूगर्भीय तथ्यांकमा पनि यस्तै भएको छ। पृथ्वीमा सबैभन्दा पुरानो र नयाँ चट्टानी तहहरूबीच ठूलो अन्तर छ। यसको मतलब यी दुईबीचमा रहेका धेरै पानाहरू च्यातिइसकेका छन्, हराइसकेका छन्।
युनाइटेड स्टेट्स जियोफिजिकल युनियन (एजीयू)का अनुसार दुई प्रकारका चट्टानबीचको दूरी एक हजार मिलियन वर्षभन्दा धेरै पनि हुन सक्छ। कोलोराडो बोल्डर विश्वविद्यालयको भूगर्भ विज्ञान विभागमा डक्टरर भूवैज्ञानिक बारा पिक भन्छन्, ‘एक अर्ब वर्ष वा पृथ्वीको इतिहासको लगभग एक चौथाइको जानकारी बेपत्ता भइरहेको छ, यसको मतलब धेरै समयको इतिहास हराएको छ।’
विश्वविद्यालयका अनुसन्धाता तथा वैज्ञानिकहरूले पृथ्वीमा रहेका चट्टानको दूरीलाई ठूलो भूवैज्ञानिक विस्मृतिको संज्ञा दिएका छन्। यो हराएको समयको रहस्य के हो? यसलाई समाधान गर्न किन महत्त्वपूर्ण छ?
यसलाई स्पष्ट पार्ने एउटा यस्तो प्रसिद्ध ठाउँ छ, जहाँ चट्टानका तहहरू स्पष्ट रूपमा पहिचान गर्न सकिन्छ। त्यो हो, अमेरिकाको एरिजोनाको ग्रान्ड क्यान्यन।
यहाँ प्रत्येक तेर्सो रेखाले तहहरू बनाउने चट्टानहरू कसरी र कहाँ जम्मा भएको भन्ने स्पष्ट बनाएको छ। यही ग्रान्ड क्यान्यनमा पहिलोपटक यति ठूलो समयावधिको जानकारी हराइरहेको पत्ता लागेको थियो।
भूवैज्ञानिक जोन वेस्लिल पावेलले सन् १८६९ मा पहिलोपटक ढुंगाको किताबमा यति लामो इतिहास नलेखिएको बताएका थिए।
आखिर यसबीचको चट्टान कहाँ हराए ? यस प्रश्नमा केही भूवैज्ञानिकहरूले यति लामो चट्टानी तहहरू पानी वा अन्य कुनै वस्तुसँग ठोक्किएर गायब भएको दाबी गरेका छन्। उनीहरूले यी चट्टानहरू बालुवामा परिवर्तन भई समुद्री किनारमा पुगेको धारणा पेश गरेका थिए।
युनिभर्सिटी अफ क्यालिफोर्नियाको एउटा लेखले चट्टानका तहहरू हराउने प्रक्रिया विज्ञानको अर्को रहस्य भएको बताएको छ। त्यो रहस्य एडियाकरन समयमा जटिल जीवनको अचानक उदय थियो। यो समय साढे ६३ करोडदेखि ५४ करोड वर्षअघिको हो भने क्याम्ब्रियन समय ५४ करोडदेखि ४८ करोड वर्षअघिको हो।
भूवैज्ञानिक फ्रान्सिस म्याकडोनाल्डका अनुसार क्याम्ब्रियन विस्फोट डार्विनको द्विविधा भएको छ। यो २०० वर्ष पुरानो प्रश्न हो। यदि, हामीले यसलाई समाधान गर्न सक्छौँ भने हामी धेरै सफल मानिने छौँ।