नयाँदिल्ली- यदि तपाईं सार्वजनिक सवारी साधनमा यात्रा गर्दै हुनु हुन्छ र तपाईंको स्मार्टफोन हरायो भने आत्तिनु स्वाभाविकै हो। किनकि, अहिले स्मार्टफोन कुराकानी गर्न मात्र होइन, हाम्रो डिजिटल पहिचान नै हो।
त्यही फोनमा बैंकिङ एप्स, नागरिकता र पासपोर्टको तस्बिर, सामाजिक सञ्जालका एकाउन्ट सबै हुन्छन्।
त्यति महत्त्वपूर्ण स्मार्टफोन चोरी भयो भने के गर्ने भन्ने धेरैलाई जानकारी नहुन सक्छ। धेरैलाई लाग्छ- अर्को स्मार्टफोन किनौंला र अर्को सिम हालौंला। तर, त्यसरी हेलचेक्र्याईं गर्नु घातक हुन सक्छ। साइबर अपराधीहरूले चोरीको मोबाइल फोनको दुरुपयोग गर्दै अनलाइन ठगी गर्न सक्छन्।
स्मार्टफोनमा धेरै व्यक्तिगत र वित्तीय जानकारीहरू हुन्छन्। त्यसैले चोरले स्मार्टफोन प्राप्त गर्नासाथ सीधै बैंकिङ एप्स, सामाजिक सञ्जालका एप्स, इमेल आईडी र व्यक्तिगत सूचनासम्म पुग्ने कोशिस गरिहाल्छन्। चोरले तपाईंको सामाजिक सञ्जाल खोलेर तत्काल त्यसको पासवर्ड बदल्न सक्छन्। र, त्यसलाई गलत प्रयोग गर्न सक्छन्।
यसरी गर्छन् गलत प्रयोग
– फोनसँग जोडिएको बैंक खाताबाट रकम निकाल्न सक्छन्
– तपाईंको नम्बरबाट कुनै पनि प्रकारको धम्की र फिसिङ म्यासेज पठाउन सक्छन्
– तपाईंको व्यक्तिगत जानकारी सार्वजनिक गरिदिन सक्छन्
– तपाईंको सामाजिक सञ्जालको एकाउन्ट ह्याक गर्न सक्छन्
मोबाइल चोरी हुनासाथ गरौं यी ५ काम
– आफ्नो नेटवर्क र अपरेटरसँग सम्पर्क गरेर तत्काल आफ्नो सिम ब्लक गराउनूस्
– इमेल आइडी र सामाजिक सञ्जाल एप्सको पासवर्ड परिवर्तन गरिहाल्नूस्
– आफ्नो बैंकसँग सम्पर्क गरेर अनलाइन पेमेन्ट र ट्रान्सफरको अप्सन बन्द गराइहाल्नूस्
– स्मार्टफोन चोरी भएको रिपोर्ट प्रहरी कार्यालयमा गरिहाल्नूस्
– स्मार्टफोनको आईएमईआई नम्बर तत्काल ब्लक गरिहाल्नूस्
भास्कर डट कमबाट