नयाँदिल्ली- साइन्स जर्नल फ्रन्टियर्सका अनुसार सन् २०२१ मा संसारभर १ करोड १७ लाख ७० हजार मानिसमा पार्किन्सन्स थियो। र, सन् २०५० मा यो संख्या बढेर २ करोड ५२ लाख पुग्ने अनुमान छ।
पार्किन्सन्स उमेरसम्बन्धी मस्तिष्क रोग हो। मस्तिष्कको केही हिस्सा साह्रै कमजोर या ड्यामेज हुँदा यो रोग लाग्छ। यो रोग लागेका मानिस साह्रै विस्तारै हिँड्ने गर्छन्। र, शरीरको सन्तुलनमा पनि समस्या पैदा हुन्छ।
अधिकांश बिरामीमा यसको खास कारण पत्ता लाग्दैन। कतिपयमा वंशाणुगत कारणले पार्किन्सन्स लागेको पाइन्छ। यसको कुनै स्थायी उपचार पनि छैन। तथापि, समयमा उपचार शुरु हुन सक्यो भने यसलाई नियन्त्रणमा राख्न सकिन्छ।
यस्ता हुन्छन् लक्षण
– शरीरको गतिविधि ढिलो हुँदै जानु
– मांशपेशीमा कम्पन महशुस हुनु
– मांशपेशी कमजोर बन्दै जानु
– शारीरिक सन्तुलन र हिँडडुलमा कठिनाइ
– लेख्दा कुनै अक्षर ठूला र कुनै साना हुनु
– मुखबाट र्याल बगिरहनु र त्यसमा नियन्त्रण नहुनु
– अनुहारको हाउभाउ परिवर्तन हुनु
– केही वस्तु निल्न मुश्किल हुनु
– आवाज सुस्त हुनु
– रक्तचाप कम हुनु
– कब्जियत र पाचनमा समस्या हुनु
– पिसाबमा असंयम हुनु र यौन समस्या देखिनु
– मनोबल कमजोर हुनु र डिप्रेसन देखिनु
– सुँघ्ने क्षमता कमजोर हुनु
– निन्द्रासम्बन्धी समस्या हुनु
– सोच्ने क्षमता र ध्यान केन्द्रित गर्न समस्या देखिनु
चिकित्सकहरूका अनुसार पार्किन्सन्स खासगरी मस्तिष्कमा एक खास रसायन डोपामिनको कमीका कारण हुने गर्छ। यो रसायन मस्तिष्कको स्ट्राइटम नामक हिस्सामा हुन्छ। र, त्यसले मांशपेशीमा नियन्त्रण र त्यसको गतिलाई नियन्त्रणमा राख्छ।
जब मस्तिष्कको यो हिस्साका सेल्स ड्यामेज हुन थाल्छन् या कमजोर हुन पुग्छन्, पार्किन्सन्सको लक्षण शुरु हुन्छ।