नयाँदिल्ली- भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार त्यहाँ सन् २०२४ मा हिट स्ट्रोकबाट ३६० जनाले ज्यान गुमाए। सोही वर्ष हिट स्ट्रोकका ४० हजारभन्दा बढी बिरामी फेला परे।
तथापि, अर्को स्वतन्त्र रिपोर्टले हिट स्ट्रोकबाट मृत्युवरण गर्नेहरूको संख्या ७३३ थियो। अर्थात्, सरकारी आँकडाभन्दा दोब्बर मानिसको हिट स्ट्रोकका कारण मृत्यु भएको थियो।
भारतीय मौसम विभागका अनुसार भारतमा आगामी १० दिन भिषण गर्मी हुने सम्भावना छ। २० भन्दा बढी शहरमा अहिले नै तापक्रम ४२ डिग्रीसम्म पुगिसकेको छ।
गर्मीयाममा तापक्रममा बढोत्तरीसँगै तातो हावा ‘लू’ चल्न थाल्छ। यो एक मेडिकल इमर्जेन्सी हो। र, त्यसका कारण हिट स्ट्रोकजस्तो प्राणघातक अवस्था सिर्जना हुन्छ।
यी हुन् हिट स्ट्रोकका लक्षण
– शरीरको तापक्रम १०४ डिग्रीभन्दा माथि पुग्न सक्छ
– साह्रै घबराहट र बेचैनी हुने व्यवहार प्रकट हुन सक्छ
– आँखा अघिल्तिरका वस्तु सजिलै देख्न सकिँदैन
– आसपासका वस्तुलाई बुझ्न गाह्रो हुन थाल्छ
– मेन्टल डिस्टर्बेन्स हुन सक्छ
– रिंगटा लाग्ने र शरीरको सन्तुलन बिग्रन सक्छ
– व्यक्ति अचानक बेहोश हुन सक्छ
– मृटुको धडकन अत्यधिक बढ्न सक्छ
– श्वास-प्रश्वासमा समस्या हुन सक्छ
– रक्तचाप अचानक कम हुन सक्छ
– वान्ता हुन सक्छ
– हृदयाघातजस्तो लक्षण देखिन सक्छ
– बोली लर्बराउन सक्छ
तत्काल गरौं यी प्राथमिक उपचार
– हिट स्ट्रोकको लक्षण देखिएको व्यक्तिलाई तत्काल शीत ठाउँमा पुर्याउनूस्
– कपडा खोलिदिनूस् र चिसो पानी शरीरमा छम्किदिनूस्
– बरफको पानीमा तौलिया भिजाउनूस् र शरीरमा त्यो तौलियाले पुछिदिनूस्
– बिरामीको घाँटी र आसपासमा बरफ या चिसो पानीको प्याक राखिदिनूस्
– तत्काल चिकित्सक बोलाउनूस्
– तर, तत्काल सिटामोलजस्ता औषधि नखुवाउनूस्
– हिट स्ट्रोकको दौरान बिरामीलाई पानी नपिलाउनूस्
भास्कर डट कमबाट