भारतको इकोनोमिक इन्फोर्समेन्ट निर्देशनालयले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको ७.२७ करोड सम्पत्ति जफत गरेको छ।
मनी लन्ड्रिङको मुद्दामा उनको सम्पत्ति जफत गरिएको निर्देशनालयले जनाएको छ। निर्देशनालयले उनीविरुद्ध कारवाही अगाडि बढाएको छ।
सुकेश चन्द्रशेखरलगायत विरुद्ध चलिरहेको आपराधिक मुद्दामा अभिनेत्री ज्याकलिन पनि जोडिएकी हुन्। समाचार एजेन्सी पीटीआईका अनुसार श्रीलंकाली नागरिक रहेकी उनीसँग निर्देशनालयले सोधपुछ गरिसकेको छ।
चन्द्रशेखरले ज्याकलिनलाई उपहार दिनका लागि धोकाधडीपूर्ण रूपमा अवैध सम्पत्ति जम्मा गरेको आरोप छ। फोर्टिस हेल्थकेयर नामक संस्थाका पूर्वप्रबर्द्धक मोहन सिंहकी पत्नी अदितीलगायत हाई–प्रोफाइल व्यक्तिहरू धोकाधडी गरेको आरोप चन्द्रशेखरमाथि छ।
अभिनेत्री ज्याकलिनले अगस्ट र अक्टोबर २०२१ मा निर्देशनालयलाई दिएको बयानमा उनलाई चन्द्रशेखरले महँगा ब्यागहरू, कानका रिङ्स, जुत्ता, ब्रासलेटलगायत धेरै उपहार चन्द्रशेखरले दिएको स्वीकारेकी थिइन्। चन्द्रशेखरको गिरफ्तारीका मितिसम्म ज्याकलिन चन्द्रशेखरको सम्पर्कमा रहेको अनुसन्धानमा खुलेको थियो।