काठमाडौं- १४औं महाधिवेशनपछि कांग्रेसका शीर्ष नेताहरू आन्तरिक रूपमा विभाजित रहँदै आएका छन्। तर, त्यो विभाजित मानसिकता विस्तारै साँघुरिँदै गएको देखिन्छ। त्यसको एक उदाहरण हो, महाधिवेशनमा सभापति शेरबहादुर देउवाका निकटतम प्रतिद्वन्द्वी डा. शेखर कोइराला र सभापतिको चुनावमा पहिलो राउन्डबाट आउट भएर देउवालाई नै सघाएका नेता विमलेन्द्र निधिबीचको पछिल्लो मेल।
डा. कोइरालालाई सभापति निर्वाचनमा निधिले सघाउने आशा देखिन्थ्यो। तर, निधि र प्रकाशमान सिंहले देउवालाई सघाएपछि डा. कोइरालाको हार निश्चित भएको थियो। यतिबेला सिंह सभापति देउवाकै पोल्टामा छन् भने निधि बाहिर निस्किसकेका छन्। र, उनको साँठगाँठ डा. कोइरालातिर देखिन थालेको छ।
आइतबार विराटनगरमा हुने मजदुर दिवसको कार्यक्रममा डा. कोइराला र निधि एउटै मञ्चमा देखिँदै छन्। ट्रेड युनियन कांग्रेसले आयोजना गरेको कार्यक्रममा निधि प्रमुख अतिथिका रूपमा निम्त्याइएका छन्। र, डा. कोइराला कार्यक्रमका विशिष्ठ अतिथि बन्दै छन्।
विराटनगरको मिल्स एरियास्थित हडताली हाटमा यी दुई नेता एउटै मञ्चमा देखिँदै छन्। यो त्यस्तो ऐतिहासिक स्थल हो, जहाँबाट कांग्रेसले राणा शासनविरुद्ध आन्दोलनको विगुल फुकेको थियो।
डा. कोइराला र निधिबीच यो मिलन धेरै रहस्यले भरिपूर्ण छैन। किनकि, दुवै नेता अहिले पालिका चुनावमा पाँचदलीय गठबन्धनप्रति सन्तुष्ट हुन सकेका छैनन्। पार्टीका उम्मेदवारले चुनाव हार्ने जोखिमका कारण मात्र उनीहरूले मुख नखोलेका हुन्। यही एउटा कारण हो, जसले डा. कोइराला र निधिलाई एक ठाउँमा उभ्याएको छ।
निश्चित छ, पालिका चुनावको परिणाम उनीहरूले भनेजस्तै कमजोर आयो भने दुवैले सभापति देउवाविरुद्ध आगो ओकल्ने छन्। र, त्यो दिन धेरै टाढा पनि छैन। पालिका चुनाव आगामी १३औँ दिनमा सम्पन्न हुनेछ। र, त्यसको परिणाम एक साताभित्रमा आउनेछ। त्यसपछि डा. कोइराला र निधिको यो मिलनले कांग्रेसभित्र सभापति देउवाविरुद्ध शक्ति आर्जनका लागि पनि भूमिका बहन गर्ने निश्चितजस्तै देखिन्छ।