काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि रोल्पाको थवाङ गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र विप्लव नेतृत्वको नेकपाबीच गठबन्धन भएको छ ।
कांग्रेस, एमाले, विप्लव नेतृत्वको स्वतन्त्रसहित पाँच जनाले उम्मेदवारी फिर्ता लिएपछि गठबन्धन बनेको हो । कांग्रेसका कोषाध्यक्ष बमबहादुर रोकाले थबाङमा आफूहरूले स्वतन्त्र उम्मेदवारलाई सघाउने निर्णय लिएको बताए ।
कांग्रेसबाट थबाङमा रमेश रोकाले उम्मेदवारी दिएका थिए । नेकपा एमालेबाट उम्मेदवारी दिएका नकस घर्तीले पनि मनोनयन फिर्ता लिएका छन् ।
नेकपाले अमित घर्तीलाई अगाडि सार्न खोजेको थियो । नेकपाबाट मात्रै अमित घर्ती, अजय घर्ती, दर्जित रोकामगर र महेश बुढामगरको उम्मेदवारी परेको थियो । अन्तिममा तीनै दलमा दर्जितको नाममा सहमति भएको थियो ।
नेकपाका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढाले भने, ‘दर्जितलाई हाम्रो समर्थन हो, उहाँको नाममा सबैको सहमति बनेको छ ।’ विसं २०७४ को स्थानीय तहको चुनावमा थबाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जितेको थियो ।
यसपटक माओवादी केन्द्रविरुद्ध कांग्रेस, एमाले र विप्लव नेतृत्वको नेकपा एक ठाउँमा उभिएका छन् । रोल्पामा १० स्थानीय तहबाट उम्मेदवारी दिएकामध्ये ११४ जनाले फिर्ता लिएका छन् ।