‘म विशेषाधिकार प्राप्त कार्य समूहको हिस्साको रूपमा पार्टीमा सामेल हुन र चुनावको जिम्मेवारी लिने कंग्रेसको प्रस्ताव अस्वीकार गर्छु।’
नयाँदिल्ली– प्रख्यात चुनावी रणनीतिकार प्रशान्त किशोरसँग लामो छलफलपछि कांग्रेसले मंगलबार उनलाई ‘प्रिभिलेज्ड वर्किङ समूह–२०२४’मा सहभागी हुन प्रस्ताव गरेको थियो। तर, उनले उक्त प्रस्ताव अस्वीकार गरेका छन्।
किशोरले कंग्रेसको संरचनागत समस्या समाधान गर्न आफूभन्दा नेतृत्व र सामूहिक इच्छाशक्ति आवश्यक रहेको बताएका छन्।
कंग्रेसका प्रवक्ता रणदीप सुरजेवालाले ट्विट गर्दै भनेका छन्, ‘प्रशान्त किशोरसँगको प्रस्तुति र छलफलपछि कांग्रेस अध्यक्षले ‘प्रिभिलेज्ड वर्किङ समूह–२०२४’ गठन गर्नुभएको छ र उनलाई सो जिम्मेवारी लिएर सो समूहको सदस्य बन्न आमन्त्रण गरिएको छ। तर, उनले उक्त प्रस्तावलाई अस्वीकार गरेका छन्।किशोरको प्रयास र पार्टीलाई दिएको सुझावको हामी कदर गर्छौं।’
सुरजेवालाको टिप्पणीको केही समयपछि किशोरले ट्विट गरे, ‘म विशेषाधिकार प्राप्त कार्य समूहको हिस्साको रूपमा पार्टीमा सामेल हुन र चुनावको जिम्मेवारी लिने कंग्रेसको प्रस्ताव अस्वीकार गर्छु।’ यसकासाथै उनले परिवर्तनात्मक सुधारका माध्यमबाट पार्टीको संरचनागत समस्यालाई सम्बोधन गर्न आफूभन्दा बढी पार्टीलाई नेतृत्व र सामूहिक इच्छाशक्ति चाहिन्छ भन्ने आफ्नो विनम्र धारणा रहेको उनले बताएका छन्।