श्री औलिया बाबा सामुदायिक वन उपभोक्ता समितिको २०औं वार्षिक साधारण सभाले कार्य तथा प्रगति प्रतिवेदन र आव २०८०/८१ को असार मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ ।
शनिबार बराहक्षेत्र-१ चतरास्थित समूहको सभाहलमा आयोजित सभामा सचिव राज वान्तवाले प्रगति प्रतिवेदन प्रस्तुत गरे ।
उनले आगामी वर्ष आन्तरिक बिक्री वितरणका निम्ति वार्षिक स्वीकार्य लकडी जर्ना निकासा गर्ने, समूहको क्षेत्राधिकारभित्र पर्ने ३.४ हेक्टर जमिनमा वृक्षरोपण गर्ने, वन हेरालुको व्यवस्था गर्ने, बाढी पहिरो सम्भावित क्षेत्रहरुको पहिचान गरी जाली क्रेटिङको व्यवस्था गर्ने, वन समूहको कम्पाउण्ड घेराबेरा गर्ने, पर्यापर्यटनका लागि सम्भावित क्षेत्रको पहिचान गरी पर्यापर्यटनको व्यवस्था गर्ने, अतिविपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्नेलगायतका कार्ययोजना प्रस्तुत गरे ।
साधारण सभासँगै वन समूहको पाचौं अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने अध्यक्ष रन्जित लोहनीले जानकारी दिए ।
औपचारिक कार्यक्रममा बराहक्षेत्र-१ का वडाध्यक्ष किसन थापाको प्रमुख आतिथ्यता र वराह सब डिभिजन वन कार्यालय चतराका प्रमुख श्यामकुमार महतो विशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै नगर स्थानीय महासङ्घका अध्यक्ष अमर कट्वालको विशेष आतिथ्यता रहेको थियो ।
समूहको आर्थिक प्रतिवेदन कोषाध्यक्षको अनुपस्थितमा सचिव वान्तवाले प्रस्तुत गरेका थिए ।