काठमाडौँ । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले नौ महिनाको अवधिमा ३९ लाख ५२ हजार राजश्व संकलन गरेको छ ।
ट्राफिक निमय उल्लंघन गर्ने सवारी साधनका चालकलाई कारबाही गर्दा उक्त राजश्व संकलन भएको हो ।
विभिन्न ठाउँमा खटिएका ट्राफिक प्रहरी टोलीले गत साउनदेखि चैत मसान्तसम्मको अवधिमा पाँच हजार ४०१ सवारी साधनका चालकलाई कारबाही गरेको थियो ।
साउनमा दुई लाख ६३ हजार, भदौमा चार लाख ४४ हजार, असोजमा चार लाख सात हजार, कात्तिकमा ६ लाख ५३ हजार, मंसिरमा सात लाख दश हजार, पुसमा तीन लाख ७८ हजार, माघमा तीन लाख ७९ हजार, फागुनमा तीन लाख ६३ हजार र चैतमा तीन लाख २४ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दलबहादुर खत्रीले जानकारी दिए ।
ट्राफिक प्रहरीका अनुसार सवारी चालक अनुमतिपत्र नलिएका, साथमा आवश्यक कागजात नबोकेका, मादक पदार्थ सेवन गरेका, स्वरुप परिवर्तन, तीव्र गति र क्षमताभन्दा बढी लोड गरी चलाइएका, हेल्मेट, सिटबेल्ट र चालक पोसाक प्रयोग नगरेका सवारी साधनका चालकलाई कारबाही गरिएको हो ।
यस्तै, जिल्लामा नौ महिनाको अवधिमा १९ सवारीसाधन दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विभिन्न समयमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए ।
अधिकांश सवारी साधन ट्राफिक नियमविपरीत चलाउँदा दुर्घटनामा परेको पाइएको खत्रीले बताए ।