काठमाडौँ । बाघ देखिने मौसम रहेकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या बढेको छ । यो मौसममा निकुञ्ज घुम्दा बाघ देखिने सम्भावना बढी हुन्छ ।
विदेशी पाहुनाले निकुञ्ज घुम्ने क्रममा बाघ देखेर फर्केका कारण खुसी देखिएको नेचर गाइड अनुराम चौधरीले बताए । ‘यो मौसममा प्रायः पर्यटकको जंगली जनावर हेर्ने इच्छा पूरा हुन्छ,’ चौधरीले भने ।
बाघकै कारण पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा बर्दिया राष्ट्रिय निकुञ्ज परेको छ । निकुञ्जको मुख्य क्षेत्रमा घुम्ने तथा जंगल हिँड्ने पर्यटकको संख्यामा वृद्धि भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।
‘चालू आर्थिक वर्षको हालसम्म नौ हजार बढी पर्यटकले निकुञ्ज घुमिसकेका छन्,’ प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भने, ‘जसमध्ये सात देशका पर्यटकले निकुञ्ज घुमेका छन् ।’
यहाँ आन्तरिक पर्यटकको संख्या पनि बढेको छ । कोभिड–१९ महामारीका कारण गत आर्थिक वर्षमा जम्मा आठ हजार पर्यटकले निकुञ्ज घुमेका थिए । चालू आवको चैत महिनासम्म १० हजारभन्दा बढी पर्यटकले निकुञ्ज घुमेका छन् ।
‘यो संख्या हाम्रा लागि सुखद रहेको छ,’ प्रमुख संरक्षण अधिकृतले भने, ‘अहिले बाघ देखिने मौसम भएकाले पर्यटकको संख्या बढ्ने विश्वास छ ।’