रुसले बिहीबार नेटोलाई एक चेतावनी दियो। चेतावनीमा रुसले उसका छिमेकी स्विडेन र फिनल्यान्ड नेटोमा सामेल भएमा ऊ बाल्टिक क्षेत्रमा आणविक हतियार र हाइपरसोनिक मिसाइलहरू तैनाथ गर्न बाध्य हुने बताएको छ।
फिनल्यान्ड र रुसबीच १३ सय ४० किलोमिटर लामो सिमाना छ। रुसले युक्रेनमाथि आक्रमण गरेपछि फिनल्यान्ड र स्विडेनले नेटो गठबन्धनमा सामेल हुने बहस शुरु गरेका छन्। फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मारिनले आगामी केही साताभित्र नेटोमा सामेल हुनेबारे निर्णय गर्न सक्ने टिप्पणी गरिसकेकी छन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार रुसको सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेवले स्विडेन र फिनल्यान्ड नाटोमा सामेल भए रुसले बाल्टिक सागरमा तैथान सेना, नौसेना र वायु सेनालाई थप सुदृढ बनाउनुपर्ने बताए। मेदभेदेवले यस अवधिमा आणविक आक्रमणको चेतावनी पनि दिएका थिए। उनले स्विडेन र फिनल्यान्डले नेटो सदस्यता लिएपछि ‘परमाणुमुक्त’ बाल्टिक सागरबारेमा वार्ताको सम्भवना अन्त्य हुने बताए। बाल्टिक क्षेत्रमा रुसको सानो भूभाग कालिनिनग्राद छ, जुन बाँकी रुसी भूभागबाट कटिएको छ भने पोल्यान्ड र लिथुआनियाको बीचमा अवस्थित छ।
बाल्टिक क्षेत्रलाई युरोपको मुटु पनि भनिन्छ। यस्तो अवस्थामा यहाँ आणविक हतियार र हाइपरसोनिक मिसाइल राख्दा युरोपका लागि रणनीतिक समस्या खडा गर्न सक्छ। मेदभेदेवले फिनल्यान्ड र स्विडेनले यस विषयको गम्भीरता बुझून् भन्ने चाहना आफूहरूको भएको प्रतिक्रिया दिए। ‘यदि स्विडेन र फिनल्यान्डले हाम्रो चेतावनी बेवास्ता गरे भने उनीहरूले आणविक हतियार र हाइपरसोनिक क्षेप्यास्त्रको नजिक हुने बानी बसाल्नुपर्छ,’ मेदभेदेवले भने।
रुसले किन स्विडेन र फिनल्यान्ड नेटोमा सहभागी हुने कुरामा यस्तो कठोर भाषा प्रयोग गरेबाट दुई मुलुक उसका लागि किन महत्त्वपूर्ण छन् भन्ने दर्शाउँछ। पछिल्लो परिस्थिति नयाँ विकासक्रम हो। किनकि, यही वर्षको जनवरीमा रुसी सेना युक्रेनको सिमानामा जम्मा भइरहँदासमेत फिनल्यान्डकी प्रधानमन्त्रीले आफ्नो देश नाटोमा सामेल हुने सम्भावना कम भएको बताएकी थिइन्।
फिनल्यान्डकी प्रधानमन्त्रीले केही साताभित्रै नेटोमा सहभागी हुने विषयमा निर्णय लिने बताएकी छन्। उता स्विडेनले यस विषयमा फिनल्यान्डको निर्णय पछ्याउने बताएको छ। विगतमा नेटोमा सामेल हुने कुराको विरोध जनाउँदै आएकाो सत्तारुढ सोसल डेमोक्रेट पार्टीले रुसको आक्रमणलाई मध्यनजरमा आफ्नो स्थितिमा पुनर्विचार गरिरहेको बताएको छ। फिनल्यान्ड र स्विडेनले दशकौंदेखि सैन्य रूपमा तटस्थताको नीति बोकिरहेका छन्। तर, रुसले युक्रेनमा आक्रमण गरेपछि ती देशभित्र आम मानिसमा पनि नेटोको सदस्य बन्नुपर्ने विषयप्रति सार्वजनिक समर्थन बढ्दै गएको छ।
आगामी साता निर्णायक हुनेछ
स्विडेनको डिफेन्स रिसर्च इन्स्टिच्युटका राजनीतिक–सैन्य मामिलाका विज्ञ रोबर्ट डोल्सियोका अनुसार रुसको चेतावनीका बावजुद फिनल्यान्डले नेटोमा सामेल हुने विषयमा बहस शुरु गरेको र त्यहाँ बहसले संगठित रूपमा तीव्रता पाएको बताए। डोल्सियोले बहसको निचोड आउन धेरै समय नलाग्ने बताए। धेरैमा केही साता मात्र लाग्ने उनको प्रक्षेपण थियो।
फिनल्यान्डको कदम के हुन्छ, त्यहीअनुसार स्विडेनले कदम उठाउने सोचिरहेको पनि डोल्सियोले बताए।
फिनल्यान्ड र स्विडेनका नेताहरूले केही समयअघि स्टकहोममा एक क्षेत्रीय सुरक्षा मुद्दासम्बन्धी बैठकमा भाग लिएका थिए। यस बैठकपछि मारिनले एक विज्ञप्ति जारी गर्दै उनको देशले आगामी दिनमा नेटोमा सामेल हुन आवेदन दिने निर्णय गरेको पुष्टि गरेकी थिइन्।
दशकौं पुरानो तटस्थताको अन्त्य
अहिले सोचमा परिवर्तन आएको बताए पनि फिनल्यान्ड र स्विडेनमा विगतमा सधैं नाटोमा सामेल हुने विषयको विरोध हुने गर्थ्यो। दोस्रो विश्वयुद्धको अन्त्यपछि, सोभियत संघले फिनल्यान्डमाथि आक्रमण नगर्ने आश्वस्त बनाएर उसलाई तटस्थ रहन मनाएको थियो। त्यसअघि, रुसले फिनल्यान्डमा धेरैपटक आक्रमण गरिसकेको थियो। १९औँ शताब्दीको शुरुदेखि १९१७ सम्म फिनल्यान्ड रुसी साम्राज्यको हिस्सा थियो। त्यसपछि पनि दोस्रो विश्वयुद्धको शुरुवाती कालमा पुनः फिनल्यान्डमाथि रुसले आक्रमण गरेको थियो।
तर, अहिले युक्रेनमाथि रुसले आक्रमण गरेपछि यी देशहरूको सोचमा ठूलो असर परेको छ। विगतमा आम जनता नेटो सहभागिताप्रति नकारात्मक रहेकामा पछिल्लो सर्वेक्षणमा ६० प्रतिशत फिनिस र झन्डै ५० प्रतिशत स्विडेनीहरू नेटोको सदस्यता लिनुपर्ने पक्षमा देखिएका छन्।
नेटो सोभियत विस्तारको पश्चिम युरोपतर्फको विस्तार रोक्न सन् १९४९ मा स्थापना भएको सैन्य गठबन्धन हो। सोभियत संघको विघटन र पूर्वी युरोपको कम्युनिस्ट शासन ढलेपछि विगतका केही कम्युनिस्ट मुलुकले पनि यस गठबन्धनको सदस्यता लिएका छन्। यस गठबन्धनका सदस्यहरू कुनै एक सदस्य राष्ट्रविरुद्ध सशस्त्र आक्रमण भएको अवस्थामा उसलाई सैन्य सहयोग गर्न प्रतिबद्ध छन्।
रुसको स्थिति
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी मुलुकले सन् १९९० मा नेटोलाई जर्मनीभन्दा पूर्व एक इन्च पनि विस्तार नगर्ने वाचा गरेको तर अहिले यो वाचा तोडेको आरोप लगाइरहेका छन्। तर, पुटिनले उल्लेख गरेको समयमा सोभियत संघ अस्तित्वमा थियो। त्यसयता स्थिति धेरै बदलिसकेको छ। स्विडेन र फिनल्यान्डले नेटो सदस्यता लिने सक्रियता देखाउन थालेपछि उनीहरूविरुद्ध रुस युक्रेनसँग जस्तै उत्रिने हो कि भनेर धेरै विज्ञहरू चिन्तित छन्।