काठमाडौं- हाम्रो समाजमा छुवाछूत, भेदभाव, तल्लो जाति–माथिल्लो जातिबीच पानी बाराबारको अवस्था अझै देखिन्छ । कानुनी रूपमा वर्जित छुवाछूत समाजमा अझै कायम छ । तर, छठले सामाजिक भेदभावको बाँधलाई भने परापूर्वकालदेखि भत्काएको प्राध्यापक श्यामसुन्दर शशिले बताउनुभयो । उहाँका अनुसार यस पर्वमा कुनैपनि जातजातिको विभेद गरेको छैन । समाजलाई एकताको सूत्रमा बाँध्न छठको ठूलो योगदान रहेको उनको भनाइ छ ।
अस्ताउँदो सूर्यलाई अर्घ दिने पर्व
सूर्यलाई रोग र दुःख नष्ट गर्ने शक्तिको स्रोत मानिन्छ । दैनिक घरमा पूजाआजा हुन्छ । हिन्दू परम्परामा पञ्चायन पूजा गरिन्छ । जहाँ गणेश, विष्णु, शिव, सूर्य र कालीको पूजा गरिन्छ । पञ्चायनमा सूर्यको पूजा गर्दा उदाउँदा सूर्यको पूजा हुन्छ । तर, छठमा भने अस्ताउँदो सूर्यको पनि पूजा गर्ने अनौठो चलन छ । संस्कृतिका जानकार डा विमलका अनुसार उपभोग गरेको शक्तिलाई पनि आराधना गर्नुपर्छ भन्ने भाव पैदा गर्न अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । हराउँदै गएको अस्तित्वलाई स्वीकार गरेर फेरि नयाँ बिहानीको सुरुआत हुन्छ भन्ने यसको मूल सन्देश हो ।
नारी सशक्तीकरण पर्व
छठ नारी सशक्तीकरण अनुष्ठानको पर्व हो । सूर्यको उपासनाको पर्व भए पनि यसले सामाजिक सद्भाव, मानवीय सद्भाव, श्रम र प्रकृतिलाई आदर एवं पवित्रता यसको मूल मान्यता रहेकोे अधिवक्ता रेखा झा बताउँछिन् । सूर्यको उपासनामा कृपालु छठी माताको आशिषविना अनुष्ठान पूरा हुन सक्दैन भन्ने विश्वास छ । यो मातृशक्तिप्रतिको श्रद्धा हो । ‘छठ मात्र यस्तो अनुष्ठान हो,’ उनले भनिन्, ‘जसमा छोरीको कामना गरिन्छ ।’
Advertisement