नयाँदिल्ली- दीपावली प्रकाशको पर्व हो। खुशी साटासाट गर्ने मौका पनि हो यो। तथापि, खुशीका बेलामा मिठाइ र गुलिया वस्तुको अधिक सेवनले स्वास्थ्यमा नकारात्मक असर पुग्छ।
खासगरी, तिहारमा सेल रोटी, अर्सा, अनरसालगायत गुलिया वस्तुको सेवन अधिक गर्ने चलन छ। अझ, शरीरलाई फिट राख्न वर्षभरि मिहिनेत गरिरहेकाहरूले तिहारलाई ‘चिटिङ टाइम’ मान्दै गुलियो र चिल्लो अधिक मिश्रित खानेकुरा खाइदिन्छन्, जसले उनीहरूको स्वास्थ्यमा गम्भीर असर पुर्याउँछ। र, वर्षभरिको मिहिनेत चौपट हुन्छ।
त्यसैले तिहारको यस उल्लासमा धेरै चिल्लो र गुलियो मिश्रित खानेकुराबाट बच्नु अत्यावश्यक छ।
के खाने, के नखाने ?
– बिहानको नास्तामा ज्यादा गुलिया परिकार नखाऊँ
– दिनको शुरुवात तारेको, झानेको खानेकुराबाट नगरौं
– लन्च प्लेटमा फल र सब्जीहरूका सलाद राखौं
– रातको खाना हल्का मात्र खाऊँ
– ज्यादा नून हालेको खाना पनि नखाऊँ
– मैदाबाट बनेका परिकारबाट टाढा बसौं
– एकैपटक धेरै भोजन गर्नु साटो केही समयको फरक पारेर थोरै- थोरै खाऊँ
– बारम्बार कफी र चिया नपिऊँ
– बासी खाना खाँदै नखाऊँ
– दिउँसो पानी ज्यादा पिऊँ
घरमै बनाऊँ परिकार
– घरमै दूध ल्याऊँ र खुवा बनाएर खाऊँ
– खुवाबाट अन्य मिठाइ पनि बनाउन सकिन्छ
– घरमा बनाइएका मिठाइहरूमा कमभन्दा कम चिनी मिसाऊँ
– मिठाइहरूमा काजु, किसमिसजस्ता सुक्खा फल र सख्खर मिसाऊँ
– मिठाइलाई राम्रो बनाउन कृत्रिम रंगहरू नमिसाऊँ
– तिल र आलसबाटै स्वादिष्ट लड्डु बनाऊँ
– गहुँको आँटामा जौ, उवालगायत मिसाउन सकिन्छ
– पानीमा कागती मिसाएर पिऊँ
– खानाका थालीमा सलाद राखेर सन्तुलित र स्वस्थ बनाऊँ
– खानाका परिकारका साथ दाल र हरिया सब्जीलाई सामेल गरौं