काठमाडौँ । सत्ता गठबन्धन दल नेपाली कांग्रेसले जनकपुरधाम उपमहानगरमा गठबन्धन नगर्ने भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनकपुरमा कांग्रेस एक्लै लड्ने भएको हो ।
उपमहानगर समितिका अनुसार केन्द्रमा गठबन्धनको तयारी भए पनि यस उपमहानगरमा कांग्रेस एक्लै लड्ने भएको हो । गत स्थानीय निर्वाचन (२०७४ सालको) तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट लालकिशोर साह २१ हजार ९०३ मत ल्याएर निर्वाचित भएका थिए । त्यसबेलाको निर्वाचनमा कांग्रेसका उम्मेदवार मनोज साहले जम्मा ११ हजार १६४ मत मात्रै प्राप्त गरेका थिए ।
मेयरमा निर्वाचित साह अहिले जसपामा छन् । उनलाई पुनः मेयरको उम्मेदवार बनाउन तयारी भएसँगै कांग्रेसले गठबन्धन नगर्ने भएको हो ।
कांग्रेसलाई मेयर र उपमेयर दिए मात्रै गठबन्धन मान्ने कांग्रेसको माग रहेको छ । केन्द्रले गठबन्धन मान्न भन्दा आफूहरूले बहिष्कार गर्ने बताउँदै जनकपुरधाम उपमहानगर कांग्रेसले चेतावनी दिएको छ ।
मधेस प्रदेशको पर्सा जिल्लामा यसअघि नै कांग्रेसले एक्लै चुनाव लड्ने निर्णय गरिसकेको छ ।