बराहक्षेत्र- संखुवासभा आइडल सिजन- ३ को उपाधि चुमेका विवेक पाण्डेलाई बराहक्षेत्रमा भव्य स्वागत गरिएको छ ।
पूर्वको चर्चित रियालिटी सो संखुवासभा आइडलमा प्रथम उपाधि पाण्डेले चुमेर आफ्नो घर फर्किएपछि स्थानीयहरूले भव्य रूपमा स्वागत तथा सम्मान गरेको हुन् ।
नेपालका प्रथम जगतगुरु बालसन्त देवाचार्य, कोशी प्रदेश सभासद् ममता तामाङ, बराहक्षेत्र नगरपालिका वडा नंम्बर १ का वडाध्यक्ष किसन थापा मगर लगायतले पाण्डेलाई स्वागत तथा सम्मान गरेका छन् ।
गत शनिबार आयोजित कार्यक्रमका कोशी प्रदेशका सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीबाट पाण्डेले नगद ३ लाख र ट्रफी प्राप्त गरेका थिए ।
उपाधि सँगै उनले एक नया गीत गाउने अवसर पाएकोमा न्यायाधीश धिरज जैरुको शब्द, संगीतमा रहेको ‘गहिरो चोट विना’ गीत रेकर्ड गरिसकेका छन् भने सिक्किम, दार्जिलिङ लगायत स्थानको लागि एक साताको टुर प्याकेज पनि पाएका छन् ।
उक्त प्रतियोगितामा धरानकी मेरिना राई फस्ट रनरअप र भोजपुरकी आस्था गुरुङ सेकेन्ड रनरअप भइन् । उनीहरुले जनही नगद ५० हजार प्राप्त गर्नुका साथै एक-एक गीत रेकर्ड, पाँचदिने भारत भ्रमण र टोकन अफ लभ प्राप्त गरेको आयोजक अरुण भ्याली इभेन्ट म्यानेजमेन्ट कम्पनीका अध्यक्ष देवेन्द्र घिमिरेले बताए ।
बराहक्षेत्र नगरपालिका वडा नंम्बर २ बयरबन बजार निवासी उमेश पाण्डेका कान्छा छोरा विवेकको कक्षा पाँच अध्ययन गर्दादेखि नै गीत संगीतमा रुची थियो । पाण्डेले सप्त संगीतालय धरानका प्रशिक्षक विगत राई तथा हिमालयन बोर्डिङ स्कूल चतराका प्रदीप ठकुरीबाट संगीत शिक्षा लिइरहेका छन् ।
प्रतियोगिताको निर्णायकमा भोजपुरका दीपक बान्तवा राई र सुरेन्द्र पुलामी तथा संखुवासभाका धीरज जैरु थिए ।