पाँच वर्षअघि इम्यानुयल म्याक्रोन र मरिन ल पेन फ्रान्सको सर्वोच्च पद राष्ट्रपतिका लागि प्रतिस्पर्धामा थिए। अहिले फेरि यी दुई नेतासोही पदका लागि आमनेसामने भएका छन्। फ्रान्समा पहिलो चरणको राष्ट्रपतीय निर्वाचनबाट दुई सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार बनेपछि म्याक्रोन र ल पेन २४ अप्रिलको दोस्रो चरणको निर्वाचनमा अगाडि बढेका छन्।
मत सर्वेक्षणहरूले आगामी चरणको निर्वाचनमा दुई उम्मेदवारबीच निकै कडा प्रतिस्पर्धा हुने बताएका छन्। फ्रान्सको सबैभन्दा शक्तिशाली पदका यी दुई प्रतिस्पर्धीको मुलुकको भविष्यबारे के छ त योजना?
सन् २०१७ मा राष्ट्रपति चुनिँदा इम्यानुयल म्याक्रोनले फ्रान्समा सबैभन्दा कान्छो राष्ट्रपति बन्ने इतिहास रचेका थिए। उनको नेतृत्वमा एक वर्षअघि मात्र शुरु भएको ‘ला रिपब्लिक एन मार्च’ आन्दोलनको बलमा उनी एलिसी दरबार पुग्न सफल भएका थिए। त्यतिबेला सम्पन्न दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनमा उनले ६६ प्रतिशत मत पाएर ल पेनलाई जितेका थिए।
पाँच वर्षअघि ४४ वर्षको उमेरमा फ्रान्सेली राजनीतिमा आधिपत्य जमाएका म्याक्रोन यसपटक ल पेनबाट अपदस्थ हुने सम्भावना बलियो रहेको विश्लेषकले बताएका छन्। सन् २०१७ मा सत्तामा आउँदा उनी परीक्षण नभएका योद्धा थिए । समाजवादी राष्ट्रपति फ्रान्स्वा होल्यान्डका राजनीतिक चेला म्याक्रोन उनकै सरकारमा अर्थमन्त्री थिए। तर, बीचमै उनले होल्यान्डलाई छाडेर आफूलाई न वामपन्थी न दक्षिणपन्थी भन्दै मध्यमार्गी अभियान चलाए।
फ्रान्सको इतिहासमा वामपन्थी सोसलिस्ट पार्टी र दक्षिणपन्थी रिपब्लिकनको सधैं राज रहँदै आएको छ । म्याक्रोनको उदयले ती पार्टीको किल्ला तोडिएको छ। फ्रान्सको राजनीतिक एलिटको पृष्ठभूमि भए पनि उनले आफूलाई राजनीतिक शासक वर्गभन्दा अलग देखाउन प्रयास गरे, जसले मतदाता तान्न सघायो ।
म्याक्रोनको राजनीतिक उदय सहजजस्तो देखिए पनि उनले मतदातासँग गरेका वाचा कार्यान्वयन गर्ने चरण कठिन रह्यो। विगत पाँच वर्षमा म्याक्रोननले फ्रान्सका कठोर श्रममैत्री कानूनहरू तोडे। उनले कम्पनीहरूले श्रमिक हटाउनसक्ने कानून ल्याए। ठूला व्यवसायीहरूले तिर्नुपर्ने भारी कर दर हटाइदिए। र, आतकंवादविरुद्ध कठोर सुरक्षा कानून ल्याए। सन् २०१८ मा उनले प्रस्ताव गरेको इन्धन कर भने पहेंला भेस्टधारी प्रदर्शनकारीको विरोधपछि फिर्ता लिन उनी बाध्य भए।
म्याक्रोनले यसपटक आफू पुनर्निर्वाचित भए कर दरमा थप कटौती गर्ने, पाँच वर्षभित्र बेरोजगारी अन्त्य गर्ने, अवकाश उमेर अहिले ६२ वर्ष रहेकामा त्यसलाई बढाएर ६५ पुर्याउनेजस्ता योजना अगाडि सारेका छन्। कर दरको कटौतीजस्ता नीतिलाई देखाएर विपक्षी मरिन ल पेनले उनलाई ‘धनीहरूको प्रतिनिधि’ भनेर सम्बोधन गर्ने गर्छिन्। भलै उनी आफैं ठूलो घरजग्गाकी मालिक हुन्। म्याक्रोन देशको सुरक्षा खर्च वृद्धि गर्ने पक्षमा छन्।
अर्की उम्मेदवार मरिन ल पेनको यो तेस्रो राष्ट्रपतीय उम्मेदवारी हो। उनको यसपटकको राष्ट्रपतीय दौड सबैभन्दा बढी सम्भावनायुक्त देखिएको छ। उनले आफ्नो चुनावी जितले ‘फ्रान्सको सार्वभौमसत्ता पुनःस्थापित’ गर्ने दाबी गरेकी छन्। उनको परिवार दशकौंदेखि फ्रान्सको उग्र दक्षिणपन्थी धारको पर्याय रहँदै आएको छ। सन् २०११ मा पिता जँ-म्यारी ल पेनबाट नेतृत्व सम्हालेपछि उनले पार्टीलाई पूर्ण रूपमा आफ्नो हिसाबले चलाइरहेकी छन्।
यो निर्वाचनको पहिलो चरणमा उनीभन्दा उग्र दक्षिणपन्थी एरिक जेम्मरको सहभागिताले उनीसमेत मध्यमार्गीजस्तो लागेकी थिइन्। दोस्रो चरणको निर्वाचनमा जेम्मरले पाएको सात प्रतिशत मत ल पेनको पोल्टामा जानेछ। ५३ वर्षकी ल पेनले शुरुदेखि नै निरन्तर फ्रान्सका श्रमिकको हितका लागि आप्रवासीको आगमनमा कडाइ गर्नुपर्ने बताउँदै आएकी छन्। उनी मुसलमान आप्रवासीहरूप्रति विशेष कठोर छिन्। राष्ट्रपति चुनिएमा मुसलमान महिलालाई सार्वजनिक स्थानमा हिजाब लगाउन प्रतिबन्ध लगाउने बताएकी छन्।
त्यसबाहेक उनी युरोपेली संघप्रति पनि त्यति सकारात्मक छैनन्। उनी युरोपेली संघलाई युरोपेली मुलुकको गठबन्धन मात्र रहोस् भन्ने चाहन्छिन्। अहिलेजस्तो समग्र क्षेत्रमाथि कानून लागू गर्न सक्ने संघ उनलाई स्वीकार्य छैन। उनी नेटोको एकीकृत कमान्डबाट फ्रान्सलाई बाहिर निकाल्न चाहन्छिन्।
आर्थिक नीतिको सवालमा उनले ३० वर्षमुनिका नागरिकहरूलाई आय कर तिर्न नपर्ने बनाउने बताएकी छन्। उनी १० प्रतिशतसम्म न्यूनतम ज्याला वृद्धि गर्ने कम्पनीको कर योगदान छुट गर्ने पक्षमा छिन्। विगतमा उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रशंसक थिइन्। तर, युक्रेनमाथि आक्रमणमा पुटिन पश्चिममा अलोकप्रिय रहेकाले उनले अहिले पुटिनसँग दूरी देखाउने प्रयास गरिरहेकी छन्। यसपटक उनले युक्रेनमाथिको रुसी आक्रमणको विरोध गरेकी छन्। यद्यपि, रुसमाथिको आर्थिक प्रतिबन्धले फ्रान्सको अर्थतन्त्रमा नकारात्मक असर पर्ने दाबी गरिरहेकी छन्। निर्वाचन विज्ञहरूले यसपटक ल पेन र म्याक्रोनबीचको प्रतिस्पर्धा निकै कडा हुने बताएका छन्।