बराहक्षेत्र- बराहक्षेत्र नगरपालिका- ३ नडाहमा सञ्चालित ‘जय नेपाल भलिबल प्रतियोगिता’ प्रति असन्तुष्टी जनाउँदै पाँच दलले संयुक्त प्रेस विज्ञप्ती जारी गरेका छन्। न्यु जेनेरेशन क्लवद्धरा आयोजित प्रतियोगिता नेपाली कांग्रेसले दलीय हिसाबले गरेको भन्दै आपत्ती जनाएका हुन्।
विज्ञप्तिमा भनिएकाे छ, ‘बराहक्षेत्र नगरपालिका- ३ नडाहमा भइरहेको जय नेपाल भलिवल प्रतियोगिता आयोजकप्रति हार्दिक आभार प्रकट गर्दछौं। जुनसुकै दल वा नाममा भए पनि खेलाडीहरूलाई खेल्ने अवसर प्रदान गर्नु स्वागतयोग्य कार्य हो। जय नेपाल नाम राखि खेलाईएको प्रतियोगिता प्रति हाम्रो कुनै टिप्पणी, आपत्ती वा बिरोध होईन तर संयोजन बराहक्षेत्र नगर खेलकुद बिकास समिति, आयोजक न्यू जेनेरेशन क्लब सहयोगीको रूपमा वार्ड कार्यालयहरू राखी खेलाईएको प्रतियोगितामा नेपाली कांग्रेसको चार तारे झन्डा चुनाव चिन्ह रूख राखेर खेलाईएको खेलप्रति हाम्रो गम्भिर ध्यानार्कषण भएको छ। स्थानीय सरकारको अधिकार दुरूपयोग गरि स्वेच्छाचारी प्रवृत्तिको घोर निन्दा र भर्त्सना गर्दछौँ। सामाजिक संघ संस्थाहरूलाई दलगत राजनीतिको भुमरीमा नफसाउन र नेपाली जनताको रगत र पसिनाबाट तिरेको करबाट संकलित राज्य कोषको दुरूपयोग नर्गन र नगराउन हुन सचेत गराउदै हार्दिक अपिल र अनुरोध गर्दछौँ ।’
नेकपा एमाले बराहक्षेत्र नगर कमिटी सचिव देबेन्द्र विष्ट, नेकपा (माओवादी) केन्द्र बराहक्षेत्र नगर कमिटी अध्यक्ष कमल बहादुर कटुवाल, रास्वपा बराहक्षेत्र नगर समिति सचिव रविन बस्नेत, राप्रपा सुनसरी क्षेत्र १ ‘ख’ का अध्यक्ष राम ठकुरी, जसपा बराहक्षेत्र नगर कमिटी सचिव जेबी हाङ राईको संयुक्त हस्ताक्षरसहित बिज्ञप्ति जारी गरिएको छ।
बराहक्षेत्र सचेत समूहका अध्यक्ष सूर्यबहादुर बस्नेतले खेलाडी राष्ट्रका गहना भएकाले पार्टीको झन्डा होइन नेपालको राष्ट्रिय झन्डामा राख्नुपर्ने भन्दै भिडियोमार्फत बिरोध जनाएका छन्।
उक्त प्रतियोगिता न्यु जेनेरेशन युथ क्लब बराहक्षेत्र-३ ले १४ असोजबाट पालिका स्तरिय भलिबल प्रतियोगिता सन्चालन गरेको थियो। उक्त खेलको उद्घाटन कोशी प्रदेश सांसद ममता तामाङले गरेकी थिइन्।
