काठमाडौं महानगरमा विवेकशील साझा पार्टीले मेयर र उपमेयर दुवैमा महिला उम्मेदवार उठाउने भएको छ।
मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाउने निर्णय उक्त पार्टीले गरेको हो।
पार्टी प्रवक्ता शरदराज पाठकका अनुसार ‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऊँ; राजधानीको गौरव पुनःस्थापित गरौँ’ नाराका साथ दुईजना महिला उम्मेदवारलाइए अगाडि सार्ने निर्णय सोमबार बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिले गरेको हो।
मेयर उम्मेदवार बास्कोटा विवेकशील साझा पार्टी, वागमती प्रदेशकी पूर्वसंयोजक तथा हाल पार्टी केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन्। ३८ वर्षीय बास्कोटाले काठमाडौँ स्कुल अफ लबाट कानूनमा स्नातक गरेर अमेरिकाबाट कानूनमै स्नातकोत्तर गरेकी छन्। उनी गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर १ ‘क’ बाट प्रदेशसभाको उम्मेदवार समेत बनेकी थिइन्। २७ प्रतिशत मत ल्याएर उनले तेस्रो स्थान हासिल गरेकी थिइन्।
उपमेयर उम्मेदवार तुलाधर विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य हुन्। उनी नेपाल जेसिजको हालसम्मका तीनजना महिला राष्ट्रिय अध्यक्षमध्येकी एक हुन्। उनी अन्तर्राष्ट्रिय जेसिजको पनि दक्षिण एसियाबाटै पहिलो महिला उपाध्यक्ष हुन्। शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीय तुलाधर हाल विभिन्न संघ–संगठनको नेतृत्वदायी भूमिकामा छिन्।
दुवै उम्मेदवारले आफ्नो संयुक्त घोषणापत्र छिट्टै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने उक्त पार्टीले जनाएको छ। पाठकका अनुसार घोषणापत्र मूलतः ७ वटा बुँदाहरूमा केन्द्रित हुनेछ। भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवाप्रवाह, सुलभ, व्यवस्थित, विद्युतीय यातायात, नेवाः कला–संस्कृतिको सम्बर्द्धन र पुनर्जागरण, खुला क्षेत्रको संरक्षण र विस्तार, नदी–नालाको सफाइ र पुनःस्थापना, सफा र व्यवस्थित काठमाडौँ तथा गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा।
‘विश्वकै विशिष्ट पहिचान बोकेको काठमाडौँ पछिल्ला दशकहरूमा क्रमिक रूपले ध्वस्त भएको परिप्रेक्षमा महानगरपालिकालाई दुईजना ‘इमानदार, सक्षम, परिपक्व र परिवर्तनका लागि प्रतिवद्ध’ महिलालाई जिम्मा लगाउन सकेको खण्डमा, देशको मुहार परिवर्तनको शुरूवात हुने’ विश्वास पार्टी अध्यक्ष रवीन्द्र मिश्रले व्यक्त गरेका छन्।