भारतको बिहार राज्यमा ६० फिट लामो पुल नै चोरी भएको छ। सरकारी समाचार एजेन्सी पीटीआईका अनुसार बिहारको सासाराम जिल्लामा पुल नै चोरी भएको हो।
र, सरकारी अधिकारीहरू बताउने समूहले त्यो पुल चोरी गरेको हो। सन् १९७२ मा स्थानीय नहरमा निर्माण भएको उक्त पुलको वजन पाँच सय टन थियो।
समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै सासारामका प्रहरी प्रमुख एसपी आशिष भारतीले भने, ‘त्यो पुल सिँचाइ विभाग मातहत थियो। र, त्यति उपयोगमा थिएन। चोरीमा संलग्न समूहले आफूहरू सिँचाइ विभागबाट आएको र पुल लिएर जान लागेको बताएको स्थानीय बासिन्दाले जानकारी दिएका छन्। सोही कारण स्थानीय बासिन्दाले हामीलाई जानकारी नदिएको खुलेको छ।’ उनका अनुसार प्रहरीले एफआईआर दर्ता गरेर पुल चोरीबारे अनुसन्धान शुरु गरिसकेको छ।
बिहार विधानसभामा विपक्षी दलका नेता तेजस्वी यादवले पुल चोरी भएकामा नीतीशकुमार सरकारको आलोचना गरेका छन्। उनले ट्विट गरेका छन्, ‘४५ वर्ष पुरानो पाँच सय टनको फलामे पुल १७ वर्षको भाजपा–नीतीश सरकारले दिनदहाडै लुटाएको छ। चोरहरूले ग्यास कटर, जेसीबी र सयौँ मजदूर लिएर आए अनि पुल निकालेर लिएर गए। चोर जनादेश चोरीबाट बनेको एनडीए सरकारबाट प्रेरित हुन्।’