काठमाडौँ । कर्णाली प्रदेशबाट निर्वाचनमा भाग लिने दलको संख्या अन्य प्रदेशको तुलनामा न्यून देखिएको छ । कर्णालीका १० जिल्लामध्ये सुर्खेतमा सबैभन्दा बढी र डोल्पामा सबैभन्दा कम दलले निर्वाचनमा भाग लिदैछन् ।
सुर्खेतमा विभिन्न २५ दल र डोल्पामा मान्यता प्राप्त छ सहित ११ दलले प्रतिस्पर्धा गर्ने भएका हुन् । सुर्खेतमा छ राष्ट्रिय मान्यता प्राप्त दल र १९ साना दल गरी २५ दलले निर्वाचनमा भाग लिने भएको निर्वाचन आयोगको प्रदेश कार्यालयले जनाएको छ ।
राष्ट्रिय मान्यता प्राप्त नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालसहित दलले निर्वाचनमा भाग लिने भएका हुन् । अघिल्लो निर्वाचनमा स्वतन्त्रबाट पाँच जनासहित नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका उम्मेदवारले मात्र चुनाव जितेको उक्त कार्यालयले जनाएको छ ।
कर्णालीका अन्य जिल्लामा रुकुम पश्चिम र सल्यानमा १२–१२, मुगुमा १५, जुम्लामा १४, हुम्लामा १५, कालीकोटमा २०, जाजरकोटमा १२ र दैलेखमा १४ दलले निर्वाचनमा भाग लिने कार्यलय प्रमुख दुर्गा चालिसेले जानकारी दिए । उल्लेखित दलले मात्रै निर्वाचनमा चुनाव चिन्ह पाउने र बाँकीले भने अन्य दलको चुनाव चिन्हमा निर्वाचन लड्नु पर्ने छ ।