काठमाडौँ । पशुपति धर्मशालामा होटल सञ्चालन गर्दै आएको बतास समूहले सरकारी टोलीलाई प्रवेश रोक गरेको छ । सरकारी टोली धर्मशाला परिसरभित्र प्रवेश गर्न खोज्दा बतास समूहका प्रतिनिधिले गेट लगाएका हुन् ।
यस क्रममा सरकारी पक्ष र बतास समूह पक्षबीच विवाद भएको थियो । बतास समूहका प्रतिनिधिले होटलमा ताला लगाउन आएको भन्दै सरकारी पक्षलाई प्रवेश गर्न रोक लगाएपछि विवाद भएको हो ।
यस क्रममा बतास समूहका प्रतिनिधि मण्डलले कानुनी उपचारमा रहेकाले सर्वोच्चको अन्तिम फैसला कुर्न आग्रह गरे । तर, सरकारी प्रतिनिधिले आफूहरुले आफ्नो सम्पत्ति हेर्न नपाउने भन्दै गेट खोल्न आग्रह गरेका थिए ।
यस क्रममा बतास समूहले आफ्नो सम्पत्तिको ताला फोडेर भित्र पस्न सरकारी पक्षलाई चुनौती दिएका थिए । सम्झौताअनुसार काम नभएको भन्दै कोषले १७ चैतमा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रा.ली.सँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो ।
बतास समूहलाई सरकारले उक्त भवन खाली गर्न सार्वजनिक सूचना जारी गरी आग्रह गरिसकेको छ । सरकारी प्रतिनिधिसहितको टोली शुक्रबार होटलमा ताला लगाउन आएको भन्दै बतास समूहले प्रवेश गर्न रोक लगाएको हो ।