भारतमा कोरोनाको ‘ओमिक्रोन एक्स-ई’ भेरियन्ट फेला परेको छ। उक्त भेरियन्टबाट संक्रमित महिलाको अवस्था सामान्य रहेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।
अधिकारीहरूका अनुसार बिरामी महिला १० फेब्रुअरीमा दक्षिण अफ्रिकाबाट मुम्बई आएकी थिइन्। उनको स्वास्थ्य परीक्षण गर्दा ‘ओमिक्रोन एक्स–ई’ भेरियन्टको संक्रमण पाइएको हो। तर, उनमा कुनै जटिल समस्या नदेखिएको चिकित्सकले बताएका छन्।
अधिकारीहरूका अनुसार मुम्बईबाट आएका २३० नमूनामध्ये २२८ वटा ओमिक्रोन भेरियन्टका छन्। यस्तै, एक जनामा काप्पा भेरियन्ट भेटिएको छ। ती महिलामा ओमिक्रोन एक्स-ई भेरियन्टको संक्रमण पाइएको छ।
‘यो भाइरसको नयाँ किटाणुबाट संक्रमित बिरामीको अवस्था गम्भीर छैन,’ एक भारतीय स्वास्थ्य अधिकारीले भने, ‘ओमिक्रोनको बीए-टु प्रजातिभन्दा एक्स–ई १० प्रतिशत बढी संक्रामक हुनसक्ने देखिएको छ। अहिलेसम्म बीए-टु सबै कोभिड-१९ भेरियन्टमध्ये सबैभन्दा संक्रामक ठानिएको थियो।’