काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ स्थित हिले जलजले सामुदायिक वन क्षेत्रमा ‘पर्यटकीय ताल’ निर्माण अन्तिम चरणमा पुगेको छ । उक्त वन क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बागमती प्रदेशको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयद्वारा विसं २०७९ मङ्सिरमा ताल निर्माण सुरु गरिएको थियो ।
काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलस्थित पर्यटकीय क्षेत्र नगरकोट पुग्ने पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले वनमा ताल निर्माण गर्न थालिएको जनाइएको छ । शून्य दशमलव ४९ हेक्टर क्षेत्रफलमा बन्न लागेको तालमा ८२ प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । चालु आर्थिक वर्षको मङ्सिर महिनाभित्र निर्माण सक्नेगरी काम भइरहेको निर्माण कम्पनी विजय–लोटस–तेजस्वी जेभीका गणेश मोक्तानले बताए। ‘अविरल वर्षाका करण केही दिनबाहेक काम भइरहेको छ, निर्धारित समयमै काम सक्ने लक्ष्य लिएका छौँ’, उनले भने, ‘निर्माणाधीन तालको हाल भुइँमा ढलान तथा ताल वरपर पर्खाल लगाउने काम सकिएको छ भने ‘फिनिसिङ’ गरी तालमा पानी थुन्ने काम बाँकी छ ।’
ओखरे र थुम्की खोला मिसिएर बग्ने स्युरो खोलामा तालको बाँध बाँधिएको छ । तल निर्माणका लागि रु पाँच करोड ८९ लाख ५१ हजारमा ठेक्का सम्झौता भएको थियो । तालसहितका अन्य संरचना निर्माण गर्न रु १६ करोड ९४ लाख ५० हजार लाग्ने अनुमान गरिएको छ । निर्माणाधीन पर्यटकीय ताल आठ मिटर अग्लो, ११ मिटर चौडाइ र एक सय ८२ मिटर लम्ब्याइएको रहेको छ ।
ताल निर्माणका लागि डिभिजन वन कार्यालय धुलिखेलले वन क्षेत्रको एक सय २९ रूख कटानको स्वीकृति दिएपछि ताल निर्माण थालिएको थियो । यस्तै, त्यसअघि प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले उक्त वनमा बहुउद्देश्यीय ताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेको थियो । डिपिआरमा तालमा डुङ्गा सञ्चालन तथा आसपासका क्षेत्रमा मनोरञ्जन पार्क, पर्खाल, उद्यानका साथै प्राकृतिक सौन्दर्यीकरणका काम हुने जनाइएको छ ।