एक नयाँ अध्ययनले कोभिड-१९ महामारीको दौरान संसारभरका मानिसमा मोटोपन खतरनाक ढंगले बढेको खुलासा गरेको छ। त्यसको मुख्य कारण खानपिनको खतरनाक तौर–तरिका र स्वास्थ्यमा हेलचेक्र्याइँ रहेको अध्ययनको निष्कर्ष छ।
महामारी शुरु हुनु अघिल्लो वर्षभन्दा शुरु भएपछिका वर्षमा अधिकांश मानिस मोटोपनको शिकार भएको देखिएको छ। अमेरिकी जर्नल अफ प्रिभेन्टिभमा प्रकाशित अध्ययनको रिपोर्टअनुसार सन् २०२० यता मानिस ज्यादा मोटोपनको शिकार भएका छन्।
अध्ययनकर्ताहरूले महामारी शुरु भएयता मानिसको व्यवहारका विभिन्न पाटोमा अध्ययन गरेका थिए। कोरोना प्रसार रोक्न सबै मुलुकले लकडाउन, निषेधाज्ञालगायत विधि अपनाएका थिए। त्यस दौरान घरभित्रै कैदी बन्न बाध्य मानिसले ज्यादा खाने र मदिरा सेवन अत्यधिक बढाएका थिए। र, काममा जानु नपरेकाले मानिसको शारीरिक क्रियाकलापमा पनि अत्यधिक कमी आयो।
अमेरिकाको ‘बिहेभरल रिस्क फ्याक्टर सर्वेलेन्स सिस्टम (बीआरएफएसएस)को तथ्यांकअनुसार ३५ लाखभन्दा बढी अमेरिकी बयस्कमा महामारीको शुरुवातको तुलनामा तीन प्रतिशतभन्दा बढी मोटोपन बढेको पाइएको छ। अध्ययन क्रममा अमेरिकामा मोटोपन बढ्नुका मुख्य चार खतरा देखियो– शारीरिक अभ्यासमा कमी, निद्राको समय कम, मदिरा पिउने आदत र चुरोट सेवनको लत। यी सबैमा महामारीको दौरान काफी परिवर्तन आएको अध्ययनको निष्कर्ष छ।
अमेरिकी नागरिकको शारीरिक अभ्यासमा ४.४ प्रतिशत कमी आएको पाइएको छ। सुत्ने समयमा भने १.५ प्रतिशत बढेको पाइयो। अनि मदिरा सेवनमा २.७ प्रतिशत वृद्धि र चुरोट सेवनमा ४ प्रतिशत कमी आएको अध्ययनले देखाएको छ।