राजधानी किभलाई घेरेर प्रवेश गर्ने र त्यसपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सरकारलाई पराजित गर्ने रुसको रणनीतिका कारण युक्रेनको बुचा शहरको एउटा उपनगरीय एभिन्यू चिहानमा परिणत भएको छ।
२४ फेब्रुअरीमा पहिलोपटक रुसी सेना युक्रेनमा प्रवेश गरेको थियो। त्यसको तीन दिन नबित्दै बुचा शहरनजिक पुगेका रुसी ट्यांक र सेनाका वाहन युक्रेनले नष्ट गर्न थालेको थियो। किनकि, रुसी सेनालाई त्यहीँ रोक्दा मात्र राजधानी किभ सुरक्षित हुन सक्थ्यो। युक्रेनले त्यस सडकमा रुसी सेनालाई एम्बुसमा पार्न सफलता पायो।
क्रेमलिनले पूर्वी युक्रेनको युद्धमा ध्यान केन्द्रित गर्ने निर्णयपछि शुक्रबार रुसी सेना फिर्ता भए। र, बीबीसीको टिम बुचा शहरमा पुग्न सफल भयो। मस्कोले कुनै प्रमाण वा विश्वसनीयताबिना मध्य युक्रेनमा आफ्नो युद्ध लक्ष्य हासिल गर्न असफलता बेहोरको छ। र, रुसले किभ कब्जा गर्न सक्दैन भन्ने बलियो प्रमाण बुचाले दिएको छ।
सत्य यो हो कि एक अप्रत्याशित रूपमा भयंकर र सुव्यवस्थित युक्रेनी प्रतिरोधले रुसी सेनालाई किभबाहिर रोकेको थियो। र, प्रमाणमा त्यो उपनगरीय सडकमा ध्वस्त भएका रुसका ट्यांक र सैन्य वाहनहरू छ।
दुई वा तीन साताको युद्धमा रुसी आक्रमणकारीहरूको प्रयास समाप्त भयो। बुचाको सडकमा तेर्सिएका ध्वस्त ट्यांक र लाशहरूले त्यसकै स्पष्ट चित्र दिन्छन्।
रुसी वायु सेनाका कुलीन सिपाहीहरू हवाइजहाजबाट ढुवानी गर्न सकिने ठूला सशस्त्र सवारी साधनहरूमा शहरमा पुगे। तिनीहरू होस्टमेल एयरपोर्टबाट केही माइल टाढासम्म आएका थिए, जुन आक्रमणको पहिलो दिन हेलिकोप्टरबाट अवतरण गरेका रूसी प्याराट्रुपर्सहरूले आक्रमण गरी कब्जा गरेका थिए। त्यतिबेला पनि युक्रेनी सेनाबाट चर्को प्रतिरोध भएको थियो। जब रुसी सेनाले बुचा हुँदै किभतर्फको यात्रा अगाडि बढाउने प्रयास थाल्यो, युक्रेनी सेनामा तिनलाई रोक्ने असाधारण साहस अझ जागृत भयो।
यो सडक साँघुरो र सीधा छ, प्रत्याक्रमणका लागि अति उपयुक्त ठाउँ। प्रत्यक्षदर्शीहरूका अनुसार युक्रेनी सैनिकहरूले टर्कीबाट खरिद गरिएका ड्रोनमार्फत रुसी सेनाका ट्यांक र सैन्य वाहन ध्वस्त बनाएका थिए। युक्रेनी रक्षा स्वयंसेवकहरू पनि त्यसका लागि खटिएका थिए।
युक्रेनका सैनिकले रणनीति अपनाए– दुवैतिरबाट रुसी सैनिक वाहनहरूलाई ठक्कर दिएर सडक अवरुद्ध बनाउने अनि ड्रोनमार्फत आक्रमण गरेर रुसी ट्यांकहरूलाई ध्वस्त बनाउने। आखिर त्यही रणनीति सफल बन्यो। र, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्ना सैनिकलाई किभ कब्जा गर्ने रणनीतिबाट पछाडि फर्काएर युक्रेनको पूर्वी क्षेत्रमा केन्द्रित हुने निर्णय लिन बाध्य भए।
रुसीहरू जब बुचाबाट बाहिर निस्कने तयारी गरिरहेका थिए, कुनै दयामाया नभएका मानिसझैँ देखिन्थे। रुसी सैनिकहरू शहरमा प्रवेश गर्दा कम्तिमा २० जनालाई सडकमै हत्या गरेका थिए। हत्या गरिएकामध्ये कतिपयको हात पछाडि फर्काएर बाँधिएको थियो। बुचाका मेयरले आफैंले २८० जनालाई सामूहिक चिहानमा गाडेको जानकारी दिए।
स्थानीय बासिन्दाका अनुसार रुसी सैनिकले उनीहरूको दाउराको हारमा आगो लगाइदिए। ग्यास, बिजुली र पानीका पाइपलाइन काटिदिए। उनीहरू धेरै दिन भोकभोकै बस्न विवश बने।
अहिले स्वयंसेवकहरूले पश्चिमी युक्रेनको एलभिभ र भौगोलिक रूपमा छोटो युद्धबाट टाढा रहेका देशहरूबाट अत्यावश्यक वस्तुहरू ल्याएर स्थानीय बासिन्दालाई बाँडिरहेका छन्।
प्लास्टिकको झोला हेर्दै मारिया नामकी स्थानीय महिलाले भनिन्, ‘३८ दिनमा हामीले पाएको यो पहिलो रोटी हो। उनकी छोरी लारिसाले सोभियत संघ निर्मित अपार्टमेन्ट भवनको वरिपरि देखाइन्।
सुरक्षित क्षेत्र वा विदेश गएकामध्ये धेरैले सुरक्षा ढोका बन्द गरेका थिए। रुसीहरूले तिनीहरूलाई कंक्रिट लिन्टेलहरू र ढोकाका स्तम्भहरू भत्काएर हटाए। केही माइल टाढा, ट्रेल होस्टमेल एयरपोर्टमा विनाशलीला देखियो। सोही एयरपोर्टलाई रुसी वायु सेनाले किभमा प्रवेश गर्ने आधार बनाएको थियो।
संसारको सबैभन्दा ठूलो विमान रुसी सेनाले क्षणभरमै ध्वस्त बनाइदियो। त्यस विमानका लागि बनाइएको विशाल ह्यांगरको छाना गोलीले र बलमे छियाछिया बनेको छ। यो विमान अब भग्नावशेषमा परिणत भएको छ। ‘एन्टोनोभ एएन–२२५’ विमानलाई युक्रेनी भाषामा नाम दिइएको थियो ‘मृया’, जसको अर्थ हुन्छ सपना या प्रेरणा। यही विमानको भग्नावशेषले रुसले युक्रेनको सपनामाथि गरेको अत्याचारपूर्ण आक्रमणको प्रमाण दिन्छ। किनकि, विश्वभर ठूला परियोजनाहरू निर्माण गर्ने युक्रेनको क्षमताको प्रतीकको रूपमा यो विमानमा राष्ट्रिय गौरवको आयोजना मान्दै ठूलो रकम लगानी गरिएको थियो।
बीबीसीका लागि जेरेमी बोवेनको विश्लेषण