• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

नासाका वैज्ञानिकलाई संस्कृत पढाएका पुण्यप्रसादको प्रेरणादायी कथा


बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित

काठमाडौं- हाल ८२ वर्ष टेकेका डा. पुण्यप्रसाद दंगाल ०६३ सालमा भर्खरै संस्कृतमा आचार्य सकेर बसिरहेका थिए। त्यही समयमा अमेरिकी अन्तरिक्ष अभियान नासाले अंग्रेजी, संस्कृत दुवै विषयमा मास्टर्स डिग्री गरेको मानिस खोजिरहेको सूचना पाए। नासाले खोजेको योग्यता उनमा ठ्याक्कै मिल्यो। र, उनी दुईपटक अमेरिका पुगे। ६ महिना अमेरिका बस्दा ३२ जना वैज्ञानिकहरूको समूहलाई संस्कृत पढाएर नेपाल फर्के।

Advertisement

को हुन् डा. पुण्यप्रसाद दंगाल ?

१७ भदौ २००० सालमा बुवा पण्डित हरिरमण दंगाल र आमा द्रौपदादेवीको पहिलो सन्तानका रूपमा सिन्धुपाल्चोकको हाल चौतारा-साँगाचोकगढी नगरपालिका-७ कल्लेरी भन्‍ने ठाउँमा उनको जन्म भयो।

हजुरबुवा रेवतीरमण दंगाल संस्कृतप्रेमी थिए। उनले बालशास्त्री पूरा गरेका थिए। बुवा हरिरमणले पनि भारतको बनारसबाट शास्त्री अध्ययन गरेका थिए। हजुरबुवाको गुण पुण्यप्रसादमा पनि सरेको थियो। सोही कारण सानैदेखि उनी संस्कृत पढ्न चाहन्थे। हजुरबुवाजस्तै देशमै बालशास्त्री गर्ने रुचि थियो उनको।

विसं २०११ सालको कुरा हो। त्यही जेठमा हजुरबुवाको मृत्यु भयो। परिवारको पहिलो सन्तान उनी परिवारमा सबैको प्यारो थिए। हजुरबुवाको त आँखाको नानीझैं नै थिए। हजुरबुवाको मृत्युले परिवारमा सबैभन्दा दुःखी उनी नै भए। जसरी पनि हजुरबुवाजस्तै संस्कृत पढेर शास्त्री बन्‍ने हुटहुटी मनमा चलेकै थियो। तर, बुवा हरिरमण सानै उमेरका अनि आफ्नो जेठो सन्तानलाई घरभन्दा टाढा पठाउन तयार थिएनन्। आमाको साथ र सहयोग भने सधैं उनीसँग थियो। बुवाले पढ्न नपठाउने भएपछि अन्ततः सपना साकार गर्न उनी घर छोड्न बाध्य भए।

११ वर्षको उमेरसम्म पुग्दा उनका ७ भाइबहिनी जन्मिसकेका थिए। त्यो उमेरमा विवाह शब्दबारे अनभिज्ञ उनी ७ वर्षकै छँदा परिवारले विवाह गरिदिएका थिए। १४ भदौ ०११ को मध्यरात। घरका सबै सदस्य मस्त निन्द्रामा थिए। उनी भने संस्कृत पढेरै छाड्ने धोको पूरा गर्न कसैलाई जानकारी नदिई घरबाट निस्किए।

मध्यरातमा बाहिर सिमसिम पानी परिरहेको थियो। त्यो समयमा भूतप्रेतमा खुबै विश्‍वास गरिन्थ्यो। उनी भने भूतप्रेत अनि हिंस्रक जंंगली जनावरको वास्तै नगरी जंगलको बाटो हिँडिरहे। संस्कृत र अंग्रेजी पढ्नु भनेर बाटो खर्चस्वरूप बुवाबाट सुटुक्क चोरी आमाले दिएको १२१ रुपैयाँ र एक माना घ्यू साथमा लिएर रातभर गन्तव्य पछ्याउँदै अगाडि बढिरहे। करिब ६ घण्टापछि अर्थात बिहान करिब ६ बजे दोलालघाट आइपुगे।

झिसमिसे बिहान बाटोमा सानो निरिह बालकलाई एक्लै हिँडिरहेको देख्दा ओहोरदोहोर गर्ने यात्रीहरू प्रश्‍न गर्थे, ‘एक्लै किन हिँडेको ? बाघ, भालुको डर लाग्दैन ?’ उनको जवाफ, ‘पढ्न हिँडेको मान्छे बाघदेखि डराउँदिनँ।’ घरबाट निस्कँदा भगवतीलाई आफ्नो गन्तव्यमा कुनै किसिमको बाधा अड्चन आई नलागोस् भनी प्रार्थना गरी उनी निस्केका थिए। केही परे भगवतीले रक्षा गरिहाल्छिन् भन्‍ने विश्‍वास बाल मस्तिष्‍कमा थियो।

दोलालघाट पुग्दासम्म फाटेका थोत्रा जुत्ता भिजेर निथ्रुक्क भइसकेका थिए। ती जुत्ता लाउनु-नलाउनुको कुनै अर्थ नदेखेपछि उनी बाटोमै फुकाली खाली खुट्टै हिँड्न थाले। दोलाघाटमा हिँड्दै गर्दा प्रहरीका एक नायब निरीक्षक (सई)ले देखे। खाली खुट्टा अनि एक्लै किन हिँडेको भनी गाली गर्न थाले। आफ्नो सम्पूर्ण परिचय खुलाएपछि भोक, तिर्खा अनि थकान एकैसाथ लागेका उनलाई तिनै सईले दोलालघाटमा दही चिउरा खुवाए।

उनले त्यो रात काभ्रेको धुलिखेलस्थित उनै सईको घरमा कटाए। भोलिपल्ट बिहान हुनेबित्तिकै सईले आफ्ना सिपाहीसँग उनलाई बनेपासम्म पुर्‍याइदिन निर्देशन दिए। र, जुत्ता किन्‍न १ रुपैयाँ ५० पैसा पनि दिए।

पुण्यप्रसादको गन्व्य बनेपा थिएन। उनी काठमाडौं रत्‍नपार्क आइपुग्‍न बाँकी नै थियो। सिपाहीले भक्तपुर जाने बाटो देखाइदिए। र, उनी हिँड्दै भक्तपुर आइपुगे। दिउँसो करिब एक-डेढ बजे उनी भक्तपुर आइपुगे। त्यहाँबाट २५ पैसा तिरेर लहरीमा उभिएरै भोटाहिटी (रत्‍नपार्क) आइपुगे।

रत्‍नपार्क अहिलेजस्तो थिएन। हिलो, अनि धुलाम्य थियो। त्यहाँ पुगिसकेपछि दही चिउरा खाए। बाङ्‍गेमुडामा उनले चिनेका रत्‍नध्वज प्रधानको घर छ भन्‍ने सुनेका थिए। उनले त्यतै जाने निधो गरे। पसलेहरूलाई सोध्दै उनी रत्‍नध्वजको घरमै पुगे।

पढ्नुपर्छ भन्‍ने चेतना विकास नै नभएको जमानामा पढ्नकै लागि मध्यरातमा घरबाट भागेर आएको थाहा पाएपछि रत्‍नध्वज आश्‍चर्यचकित भए। पुण्यप्रसाद एक महिना उनकै घरमा बसे। र, दशैंमा घर गएर काठमाडौं फर्किएपछि फेरि ३-४ महिना त्यतै बसे। त्यही पुसमा रानीपोखरीस्थित पाठशालामा उनी भर्ना भए। भर्ना हुन जाँदा पढाउने गुरुहरू पाठशालाको बाहिर बसेर घाम तापिरहेका थिए। पुण्यप्रसादलाई देखेपछि किन आएको भनेर सोध्दा उनले अंग्रेजी पढ्न आएको जवाफ दिए।

बाहुनको छोरा अंग्रेजी होइन, संस्कृत पढ्नुपर्छ भन्दै संस्कृत कक्षामा भर्ना गरिदिए। त्यो समयमा विद्यालय भर्ना हुन पैसा तिर्नुपर्दैनथ्यो। ज्योतिषशास्त्र हजुरबाले सिकाएकै थिए। पाठशालामा उनी सीधै ६ कक्षामा भर्ना भए। उनको कक्षामा देशभरका १०० जना विद्यार्थी थिए।

उनी पढाइमा दत्तचित्त भएर लागे, संस्कृत र अंग्रेजी पढेरै छाड्ने जुनून जुन थियो। र, उनको मिहिनेतले रङ ल्यायो। १०० जना विद्यार्थीमा उनी प्रथम बने। त्यसवापत पाठशालाबाट उनले पुरस्कार नै पाए। लगातार तीन वर्ष कक्षामा प्रथम भए। चार वर्ष उनले त्यतै पढे। र, २ वर्ष प्रदर्शनी मार्गस्थित बाल्मिकी विद्यापीठमा पढे। त्यहाँ उनले ज्योतिष र व्याकरण अध्ययन गरे।

बाल्मिकीमा पढ्दै गर्दा गुरुहरूले अंग्रेजी पनि पढ्न सल्लाह दिए। र, उनी ०१७ सालमा दरबार हाइस्कुलमा ९ कक्षामा भर्ना भए। र, ०१८ सालमा उनले १८ वर्षको उमेरमा दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरे।

त्यसपछि ०२० सालमा आईएस्सी अध्ययन गर्न उनी लैनचौरस्थित अमृत साइन्स कलेजमा भर्ना भए। गणित विषयमा डिस्टिङ्क्सन ल्याएका उनले आईएस्सी हाइएस्ट दोस्रो डिभिजनमा उत्तीर्ण गरे। त्यसपछि बीएस्सी अध्ययन गर्न उनी त्रिचन्द्र कलेजमा भर्ना भए। ०२२ सालमा हाइएस्ट सेकेन्ड डिभिजनमा उनले बीएस्सी पनि उत्तीर्ण गरे।

माया गरेर घरबाट नछोड् भन्‍ने बुवा पनि उनको प्रगति देखेर अन्य छोराहरूलाई पनि पढ्न प्रेरित गर्न थाले। उनीबाटै प्रेरित भएका भाइहरूले पनि पढेर राम्रै उपलब्धी हासिल गरेका छन्। एक भाइ क्याम्पस प्रमुख र अर्का भाइ नेपाल सरकारको सचिव पनि भए।

२०२२ सालमा बीएस्सीको प्राक्टिकल जाँच दिएर उनी घर गए। गाउँको स्कुललाई हाइस्कुल बनाउने प्रयास भइरहेको थियो। विदाको अवसर पारी गाउँ पुगेका उनी आफ्नै गाउँ चौतारास्थित श्रीकृष्‍ण माविमा कक्षा ९ र १० लाई पढाउन थाले। ९ र १० कक्षाका विद्यार्थीलाई अंग्रेजी, गणित र विज्ञान गरी तीन विषय उनी पढाउँथे।

त्यही वर्ष उनले पढाउँदै आएको स्कुलले पनि हाइस्कुलको मान्यता पायो। ०२३ सालमा उनी त्यही स्कुलको प्रधानाध्यापक बने। प्रधानाध्यापक बन्दै गर्दा यता उनले आफ्नो पढाइलाई पनि निरन्तरता दिइरहेका थिए। ०२६ सालमा उनले त्रिभुवन विश्‍वविद्यालयबाट एमएस्सी उत्तीर्ण गरे। १३ वर्ष उनी सोही विद्यालयको प्रधानाध्यापक रहे। ०३६ सालमा उनको सरुवा भयो। र, सिन्धुपाल्चोककै आनन्द माविमा पुगे। त्यहाँ करिब दुई वर्ष पढाए।

२०३६ सालमा शिक्षक आन्दोलन भयो। त्यो समयसम्म उनी कामु प्रधानाध्यापक थिए। तर, त्यस आन्दोलनले उनलाई कन्फर्म हेडमास्टर बनाइदियो। त्यसपछि ०४२ सालमा फेरि आन्दोलन भयो। कम्युनिस्टहरूले उनलाई निकाल्ने हल्ला चलिरहेको थियो। तर, शिक्षा मन्त्रालयले नै बोलाएर धनकुटाको जिल्ला शिक्षा अधिकारी बनाइदियो।

५-७ महिना धनकुटामा काम गरिसकेपछि सरुवा भई झापा झरे। त्यहाँको माहोल मन नपरेपछि मन्त्रालयले सरुवा गरी उनलाई कास्कीको जिल्ला शिक्षा अधिकारी बनायो, जहाँ उनले एक वर्ष जिम्मेवारी वहन गरे। त्यसपछि रुपन्देहीमा सरुवा भयो। त्यहाँ रहँदा समुदायलाई पढ्नुपर्छ, ठगेर खानु हुँदैन भन्‍ने पाठ सिकाउन उनी सफल भए। ०४७ सालमा पोखरामा तत्कालीन पश्‍चिमाञ्‍चल क्षेत्रीय शिक्षा निर्देशकको पद खाली थियो। र, एक वर्ष उनले पोखरामा क्षेत्रीय शिक्षा निर्देशकको जिम्मेवारी सम्हाले। त्यसपछि उनी पेन्सनका लागि योग्य भइसकेका थिए। र, क्षेत्रीय शिक्षा निर्देशकको जिम्मेवारी पूरा गरेपछि उनले जागिरबाट राजीनामा दिए।

माओवादीले जलाइदिए घर

जागिरबाट राजीनामा दिएपछि उनले काठमाडौं शान्तनगरमा आफ्नै ज्ञानपुञ्‍ज बोर्डिङ स्कुल चलाए। ०४७ देखि ०५७, १० वर्षको अवधिमा आफ्नै बोर्डिङ स्कुलमा दैनिकी सामान्य चलिरहेको थियो। तर, १५ भदौ ०५७ मा माओवादीले भनेको नमान्दा उनले विस्थापित हुनुपर्‍यो।

माओवादीहरूले उनको पुर्ख्यौली घर नै जलाइदिए। त्यही घरमा विभिन्‍न क्षेत्रबाट संकलन गरेका ऐतिहासिक करिब ५ लाख रुपैयाँबराबरका किताबहरू, पुर्ख्यौली सम्पत्ति र अन्य महत्त्वपूर्ण कागजात सबै जलेर नष्‍ट भए। जसोतसो आफू र श्रीमतीले भागेर ज्यान जोगाए। तर, घर जल्दा करिब ५० लाख रुपैयाँबराबरको नोक्सानी बेहोर्नुपर्‍यो।

पुर्ख्यौली घर जल्दा उनी मानसिक रूपमा निकै कमजोर भए। त्यही समयमा नजिकका साथीहरूले उनलाई संस्कृतको थप अध्ययनका लागि प्रेरित गरे। बाल्यकालमै संस्कृत पढेका उनले जीवनको उतारचढावका बीच धेरै कुरा बिर्सिसकेका थिए। साथीहरूको सल्लाहबमोजिम उनले १० कात्तिक ०५७ मा फेरि शुरुदेखि नै संस्कृत कक्षा लिन थाले। अध्ययन गरेको ७ वर्षभित्र ०६३ सालमा उनले संस्कृतमा आचार्य गरे।

आचार्यसँगै अंग्रेजी विषयमा एमफिल पनि गरे। र, भारतको कोलकाता विश्‍वविद्यालयबाट ०६५ सालमा ६५ वर्षकै उमेरमा अंग्रेजी विषयमै पीएचडी गरे। बुढेसकालमा संस्कृतमा आचार्य अनि अंग्रेजीतर्फ विद्यावारिधि गर्नुको उनको उद्देश्य आत्मसन्तुष्‍टिका लागि सिक्नु र जीवनको सार बुझ्नु थियो।

नासाबाट बुलावा

डा. पुण्यप्रसादले भर्खरै संस्कृतमा आचार्य अनि अंग्रेजीमा एमफिल सकाएका थिए। त्यही समयमा उनका साथी डा. लोकराज पौडेलको कार्यालयमा अमेरिकी अन्तरिक्ष अभियान नासाका वैज्ञानिक डा. हार्नेसको फ्याक्स आयो। फ्याक्समा अंग्रेजी अनि संस्कृत दुवै विषयमा स्‍नातकोत्तर अध्ययन गरेको मानिसको आवश्यकता छ लेखिएको थियो। डा. दंगालमा दुवै विषयको योग्यता मिल्न गएपछि डा. पौडेलले डा. दंगाललाई नै त्यसका लागि सिफारिस गरे।

दुवै विषयमा नासाले भनेअनुसार योग्यता मेल खाएपछि फ्याक्समार्फत आफू अमेरिका आउन इच्छुक रहेको जानकारी दिए। त्यसपछि अमेरिकाबाटै उनलाई आमन्त्रण गरियो। त्यसका लागि उनले संस्कृतमा आचार्य र  अंग्रेजीमा एमफिल गरेको प्रमाणपत्र फ्याक्समै पठाएका थिए। उतैबाट आयो हवाई जहाजको टिकट। र, उनी ०६३ सालमा अमेरिका उडे।

अन्तरिक्षमा अंग्रेजीलगायत अन्य भाषा बोलेर पठाउँदा वाक्य बिग्रिएर जाँदो रहेछ। तर, संस्कृत भाषामा कुनै वाक्य बोल्यो भने जस्ताको तस्तै अन्तरिक्षमा पुग्‍ने भएकाले अंग्रेजीलाई संस्कृतमा अनुवाद गरेर अन्तरिक्षमा पठाउने प्रयोजनका लागि नासाले डा. दंगाललाई अमेरिका बोलाएको थियो। तर, उता गइसकेपछि आँखा जाँच गर्दा उनको आँखामा समस्या देखियो। त्यस वर्ष आँखाको उपचार गर्न उनी नेपाल फर्के।

दोस्रो वर्ष पुनः उनलाई बोलाइयो। त्यस वर्ष पनि आँखाको कमजोरीकै कारण भनेको काम हुन सकेन। त्यसपछि उनलाई वैज्ञानिकहरूको ३२ जनाको टिमलाई संस्कृत पठाउन भनियो। मासिक ५०० डलरमा करिब ६ महिना वैज्ञानिकहरूलाई संस्कृत पढाएर उनी नेपाल फर्के। त्यस क्रममा उनले नासाका वैज्ञानिकहरूलाई मात्र होइन, अमेरिकाका अन्य राज्यमा पनि पुगेर संस्कृतको ज्ञान बाँडे। यसबीचमा अमेरिका उनी पाँचपटकसम्म पुगे, संस्कृतको ज्ञान बाँड्नकै लागि। उनको ४ महिनाको पारिश्रमिक आउन बाँकी नै छ। केही समयभित्र बाँकी रहेको २ हजार डलर पठाउने कुरा भइरहेको उनी बताउँछन्। नासाबाट प्राप्त हुने २ हजार डलर आश्रमलाई दान गर्ने योजनामा छन् उनी।

समाजसेवी डा.दंगाल

अमेरिकालगायत ६-७ वटा मुलुक पुगिसकेका उनी हाल समाज सेवामा जुटेका छन्। १०० जना अनाथ बालबालिकालाई मौलिक संस्कृत पढाएर पौराणिक भाषाको जगेर्ना गर्ने आगामी योजना छ उनको। अनाथ बालबालिकालाई राख्‍न आधुनिक छात्रावास निर्माणमा उनी जुटेका छन् अहिले।

चौतारा साँगाचोकगढी नगरपालिका-७ कल्लेरीस्थित उनको आश्रमनजिक ज्ञानमन्दिर सेकेन्डरी स्कुल सञ्‍चालनमा छ। उनी उक्त विद्यालयका जग्गादाता र संस्थापक पनि हुन्।

दिउँसो आफूले नै जग्गा दान गरी जर्मनीले ७ करोड रुपैयाँमा निर्माण गरिदिएको ज्ञान मन्दिर स्कुलमा १०० जना बालबालिकालाई संस्कृत पढाउने योजना छ उनको। ती बालबालिकालाई छात्रावासमा राख्‍ने तयारीमा छन्। ती बालबालिकाले निःशुल्क संस्कृत पढ्न पाउने छन्। भन्छन्, ‘आधुनिक छात्रावासको संरचना तयार हुन एक वर्ष लाग्‍न सक्छ। त्यसपछि १०० जना अनाथ बालबालिकाको खोजी गरी सोही छात्रावासमा राखेर संस्कृत पढाइने छ।’

उनका अनुसार १०० जना बालबालिकामा कुनै भेदभाव, जातभात अनि महिला-पुरुष भनिने छैन। सबै जातजातिका बालबालिकालाई समान शिक्षा दिएर संस्कृतको जगेर्ना गर्नु आफ्नो उद्देश्य रहेको उनी बताउँछन्।

बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ३.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ४.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ५.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७.
    टिपरको ठक्करबाट मृत्यु

  • ८.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.