काठमाडौं- आज १५ अगस्ट। विश्व इतिहासमा भएका असंख्य घटनाले आजको दिन संसारभर स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्व चर्चित घटनाको सारसंक्षेप।
– १९३६- हिटलरलाई चुम्बन
सन् १९३६ मा आजकै दिन बर्लिन ओलम्पिकको स्विमिङ प्रतियोगितामा अमेरिकी पर्यटक कार्ला डे भ्रिसले एडोल्फ हिटलरलाई चुम्बन गरेकी थिइन्। उनले हिटलर ‘मिलनसार र दयालु’ भएको महशुस गरेको भन्दै हात मिलाएर चुम्बन गरेकी थिइन्। उक्त घटना विश्वभर फैलिएको थियो।
– १९४५- दोस्रो विश्वयुद्धमा जापानद्वारा आत्मसमर्पण
सन् १९४५ मा आजकै दिन जापानले दोस्रो विश्वयुद्धमा आत्मसमर्पण गरेको थियो। (समय क्षेत्र फरक पर्ने हुँदा अमेरिकामा उक्त दिन १४ अगस्ट थियो।) २ सेप्टेम्बरमा आधिकारिक सम्झौता भएपछि दोस्रो विश्वयुद्ध अन्त्य भएको थियो।
– १९७५- मुजिबुर परिवारको सामूहिक हत्या
सन् १९७५ मा आजकै दिन बंगलादेशी प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानको क्रुर हत्या भएको थियो। सैन्य ‘कु’पछि सेनाको एक समूहले रहमानको परिवारको सामूहिक हत्या गरेको थियो। उक्त घटनामा रहमान परिवारबाट बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना र उनकी बहिनी मात्र बच्न सफल भएका थिए।
– १९७५- सोलेको प्रदर्शन
सन् २०७५ मा आजकै दिन बलिउड सिनेमा सोले प्रदर्शन गरिएको थियो। रमेश सिप्पीले निर्देशन गरेको चलचित्रमा धर्मेन्द्र र अमिताभ बच्चनलगायतको अभिनय छ। यो सबैभन्दा धेरै व्यापार गर्ने भारतीय चलचित्र बनेको थियो।
– २००८- मानव पुर्खाको २० लाख वर्ष पुरानो जीवाश्म फेला
सन् २००८ मा आजकै दिन ली बर्गर र उनका नौ वर्षीय छोरा म्याथ्यूले दक्षिण अफ्रिकाको मलापा गुफामा मानव पुर्खाको नयाँ प्रजाति (अस्ट्रेलोपिथेकस सेडिबा) को २० लाख वर्ष पुरानो जीवाश्म फेला पारेका थिए।
– २०१७- स्याउको उत्पत्ति कजाकिस्तानमा
सन् २०१७ मा आजकै दिन वैज्ञानिकहरूले स्याउको आनुवंशिक अध्ययनले यसको उत्पत्ति कजाकिस्तानमा भएको खुलासा गरेका गरेका थिए। उक्त अध्ययनको रिपोर्ट ‘नेचर कम्युनिकेसन्स’मा प्रकाशित भएको थियो।
– २०२१- अफगानी राष्ट्रपतिले देश छोडे
सन् २०२१ मा आजकै दिन तालिवानले राजधानी शहर काबुल नियन्त्रणमा लिएपछि अफगानी राष्ट्रपति असरफ घानीले देश छोडेका थिए। त्यसयता अफगानिस्तानमा तालिबानको शासन कायम छ।