काठमाडौं– नेकपा एमालेले थप १७ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। बिहीबार बसेको सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताए।
केन्द्रीय सदस्यमा मनोनीत हुनेमा सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्र देव (सुनसरी), रामपृत राम (सिरहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम),गोविन्द पुन (सल्यान), केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), भरदेव जोशी (दार्चुला) छन्।
त्यस्तै हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की),मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) छन्।
एमालेमा सांसद महेश बर्तौलाको भने अप्रत्यासित बढुवा भइरहेको छ। मकवानपुर-२ बाट नेकपा एसका प्रभावशाली नेता विरोध खतिवडालाई पराजित गरेर पहिलोपटक संसद छिरेका बर्तौला अध्यक्ष ओलीको विश्वासपात्र बनिसकेका छन्। उनलाई ओलीले एकपछि अर्को जिम्मेवारी दिइरहेका छन्।
एमालेले सचेतक हुँदै प्रमुख सचेतक भएका बर्तौला हाल सत्तारुढ दलको तर्फबाट मुख्य सचेतक समेत छन्। अहिले फेरि उनलाई एमालेले केन्द्रीय सदस्यमा मनोनित गरेको हो।