दमौली- तनहुँ सदरमुकाम दमौलीमा १५ दिनपछि नकुहिने फोहर उठेको छ । साउन १ गतेदेखि नउठेको फोहर नगरपालिकाले मङ्गलबार उठाएको हो । नकुहिने फोहर उठ्न नसक्दा दमौली बजार क्षेत्रका चोक–चोकमा फोहरका थुप्रो भएको थियो ।
व्यास नगरपालिका–३ का वडाध्यक्ष अनुप रानाले दमौली बजारबाट उठाइएको फोहर सोही वडाको भतेरीमा बाटो पुर्नका लागि लगिएको जानकारी दिए । उनले भने, भतेरीमा फोहर विसर्जन गर्न लागिएको होइन, त्यहाँ माटोले मात्र पुर्न नपुग्ने भएकाले प्लास्टिकजन्य फोहरसमेत त्यहाँ लगेर पुर्ने र बाटो सम्याउने काम गरिनेछ ।
तारजाली मात्रै हुँदा मादी नदीको पानीले कटान गर्नसक्ने भएकाले फोहर र माटो हालेर पुरेर बलियो बनाउन लागिएको रानाको भनाइ छ ।
फोहर फाल्ने ठाउँको अभावमा नगरपालिकाले नकुहिने फोहर उठाउन सकेको थिएन । नगरपालिकाले कार्यालय परिसरभित्रै फोहर व्यवस्थापनको तयारीसमेत गरेको छ । व्यास–३ भतेरीमा नकुहिने फोहर बिसर्जन हुँदै आएकामा असार मसान्तबाट म्याद सकिएर स्थानीयले अवरोध गरेपछि यही साउन १ गतेदेखि दमौली बजारको वडा नम्बर २, ३ र ४ बाट नकुहिने फोहर सङ्कलन हुन सकेको थिएन ।