गण्डकी- अस्तित्व सङ्कटबाट गुज्रिरहेको मनाङको गङ्गापूर्ण हिमताल जोगाउने योजना बजेट अभावमा अलपत्र परेको छ ।
एकातिर हिमनदीको कटान, अर्कातिर माटोको लेदो र गेग्र्यान थुप्रिँदा बर्सेनि तालको सौन्दर्य खस्किरहेको छ । बेलैमा संरक्षण योजना अगाडि नबढे ताल नै नामेट हुने अवस्था रहेको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए। उनका अनुसार तीन वर्षअघि सुरु भएको ताल संरक्षण योजनाले गति नलिँदा तालको अस्तित्व झन्झन् सङ्कटमा परेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मनाङ ङिस्याङ गाउँपालिकाको साझेदारीमा ताल संरक्षणको काम अगाडि बढेको थियो । मन्त्रालयको ७० र गाउँपालिकाको ३० प्रतिशत लागत रहनेगरी सुरु गरिएको उक्त योजना बजेट अभावका कारण अलपत्र परेको गाउँपालिका अध्यक्ष घलेले बताए ।
विसं २०७८ को अधिक वर्षा र बाढीले पुरिएको ताल संरक्षणमा स्थानीयले समेत पहल लिएका थिए । जनश्रमदान जुटाएर तालको ड्याम लगाउनेलगायत काम भएको अध्यक्ष घलेले बताए । विसं २०७८ असोजमा ताल संरक्षणका लागि आवश्यक संरचना बनाउने जिम्मा निर्माण कम्पनी जलजला÷शिवशक्ति÷अधिकारी जेभीले पाएको थियो । रु चार करोड आठ लाखको ठेक्का खुलेकामा उक्त कम्पनीले भ्याटसहित रु दुई करोड ९५ लाखमा ठेक्का लिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवीन क्षेत्रीले जानकारी दिए ।
पर्यटन मन्त्रालयबाट पहिलो वर्ष रु २५ लाख बजेट आए पनि त्यसपछि बजेट निकासा हुन नसकेको उनले बताए ।
उनका अनुसार हालसम्म योजनाको झन्डै २० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । उक्त योजनाअन्तर्गत तालको ड्याम उठाउने, हिमनदीको कटान रोक्न ग्याबिन पर्खाल, ताल परिसरमा पदमार्गलगायत पर्यटकीय पूर्वाधार निर्माण गरी तालको दिगो संरक्षणको लक्ष्य लिइएको उनको भनाइ छ ।
मन्त्रालयलबाट बजेट नआएमा गाउँपालिकाको बजेटले भ्याउनेसम्मका संरचना बनाउने विषयमा छलफल भइरहेको अध्यक्ष घलेले बताए ।
अध्यक्ष घलेले पर्यटकीय आकर्षणको गङ्गापूर्ण ताल सङ्कटमा पर्दा स्थानीय चिन्तित रहेको बताए। उनले मस्र्याङ्दीलगायत त्यस क्षेत्र भएर बग्ने नदीको स्रोतसमेत रहेको उक्त हिमताल जोगाउन सङ्घ र प्रदेश सरकारले गम्भीरता देखाउनुपर्ने बताए । गण्डकी प्रदेश सरकारको ताल संरक्षण तथा विकास प्राधिकरणका प्रमुख शम्भुकुमार मिश्रले गङ्गापूर्ण हिमतालको संरक्षणमा अहिलेसम्म प्राधिकरणकातर्फबाट कुनै काम नभएको जानकारी दिए ।
पर्यटक पथप्रदर्शक दिवस गुरुङले गङ्गापूर्ण हिमताल विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको आकर्षक गन्तव्यस्थलका रुपमा रहेको उल्लेख गरे ।
केही वर्षअघि गङ्गापूर्ण हिमतालमा अभिनेता अमिताभ बच्चन, अनुपम खेरलगायतद्वारा अभिनित बलिउड चलचित्र ‘उचाइ’को छायाँकन गरिएको थियो । मनाङ ङिस्याङ–६ मा पर्ने उक्त हिमताल समुद्री सतहदेखि तीन हजार पाँच सय ४० मिटर उचाइमा अवस्थित छ । गङ्गापूर्ण हिमालबाट बगेर आउने हिमनदीबाट उक्त ताल बनेको हो । जाडो याममा हिमताल जम्ने गरे पनि बर्सातका बेला भने हिमालको फेदबाटै हिउँ पग्लेर पानी तालसम्म आइपुग्ने गर्छ । मनाङ गाउँदेखि पैदल १५ मिनेटमा पुग्न सकिने उक्त हिमतालमा अहिले सडक पनि पुगेको छ ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द (इसिमोड) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) ले संयुक्त रुपमा गरेको अध्ययनअनुसार नेपालमा दुई हजार ८६ हिमताल रहेको पाइएको छ । तीमध्ये २१ हिमताल जोखिममा रहेको देखाएको जलवायु विज्ञ डा रेग्मीले जानकारी दिए । उहाँका अनुसार च्छो रोल्पा, इम्जा, मनास्लु हिमशृङ्खलाको ठुलागी, वरुण, चामलाङलगायतका हिमताल उच्च जोखिममा छन् । विश्वव्यापी तापमानमा भइरहेको वृद्धिबाट हिमालय क्षेत्र प्रत्यक्ष प्रभावित छ ।
Advertisement