काठमाडौँ । युक्रेनका एक प्रतिनिधि मण्डल रूससँग शान्तिवार्ता गर्नका लागि टर्कीको राजधानी इस्तानाबुल पुगेको छ । प्रतिनिधि मण्डलको नेतृत्व युक्रेनका रक्षा मन्त्री ओलेक्सी रेजनिकोवले गरेका छन् ।
साथै, राष्ट्रपति कार्यालयका प्रमुख मिखाइल पोडोलियाकसमेत वार्तामा सहभागी हुने भएका छन् । यस प्रतिनिधि मण्डलको सबैभन्दा ठूलो प्राथमिकता दुई देशबीच भइरहेको युद्ध विराम गर्ने रहेको छ ।
यो वार्ता टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनले आयोजना गरेको समाचारमा जनाइएको छ । वार्ता स्थानीय समयअनुसार मंगलबार बिहान १० बजे हुने भएको हो ।
यसअघि पनि दुई देशमा प्रतिनिध मण्डलबीच वार्ता भएको थियो । वार्तामा रूसले युक्रेन नेटोको सदस्य हुन नहुने माग राख्दै आएको थियो । पछिल्लो समय युक्रेनका राष्ट्रपति भोलोदिमिर जलेन्स्कीले आफू यस विषयलाई लिएर सम्झौता गर्न तयार भएको बताउँदै आएका छन् । एजेन्सी