लखनऊ- शुक्रबार भारत उत्तरप्रदेशको राजधानी लखनऊमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा योगी आदित्यनाथले मुख्यमन्त्रीको दोस्रो कार्यकालका लागि सपथ लिए।
लखनऊको अटल विहारी बाजपेयी एकेना रंगशालामा भएको सपथग्रहण समारोहमा आदित्यनाथसँगै उनको मन्त्रीमण्डलका ५२ मन्त्रीले पनि सपथ लिएका थिए। सपथ लिनेमा दुई उपमुख्यमन्त्री, १६ क्याबिनेटस्तर र ३४ राज्यमन्त्री थिए।
५२ मन्त्रीमध्ये २१ जना आदित्यनाथको अघिल्लो सरकारमा पनि सामेल थिए भने ३१ जना नयाँ हुन्। योगीको मन्त्रीमण्डलमा पाँचजना महिला मन्त्री पनि अटाएका छन्।
उत्तरप्रदेश इलेक्सन वाच र द एसोसियन अफ डेमाक्रेटिक रिफर्म (एडीआर)ले मुख्यमन्त्री आदित्यनाथसमेत ५३ मन्त्रीमध्ये ४५ जना मन्त्रीको स्वघोषित विवरणको अनुसन्धान गरेर तिनको आपराधिक रेकर्ड पहिल्याएका छन्।
बाँकी आठ मन्त्रीले विवरण विश्लेषण गर्ने समयसम्म निर्वाचन आयोगमा विवरण प्रस्तुत गरेका थिएनन्।
रिपोर्टमा २२ मन्त्री अर्थात ४९ प्रतिशतले विवरणमा आफूविरुद्ध आपराधिक र गम्भीर प्रकृतिको मुद्दा रहेको स्वीकारेका छन्।
रिपोर्टमा पाँच वर्ष वा त्यसभन्दा बढीको सजाय हुने तथा जमानत दिन नमिल्ने अपराधलाई गम्भीर प्रकृतिको मुद्दा मानिएको छ। यसअन्तर्गत आक्रमण, हत्या, अपहरण, बलात्कार र महिलाविरुद्धको मुद्दा तथा भ्रष्टाचार ऐन रोकथाम कानूनअन्तर्गतको मुद्दा रहेको रिपोर्ट तयार पार्ने एसोसिएसन फर डेमोक्रेटिक रिपोर्टले जानकारी दिएको छ।
यस्तै, मन्त्रीहरूले आफूबारे गरेका स्वघोषणाअनुसार ३९ जना (८७ प्रतिशत) करोडपति देखिन्छन्। र, तिनको औसत सम्पत्ति जनही नौ करोड भारतीय रुपैयाँबराबर देखिन्छ।
द वायरबाट