बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आज अर्थात बिहीबार युक्रेनलाई करिब ६००० थप मिसाइल दिने घोषणा गर्दैछन्।
ब्रसेल्समा आयोजना हुन लागेको नेटो र जी–७ का नेताहरूको बैठकमा प्रधानमन्त्री जोनसनले मिसाइलका साथसाथै युक्रेनलाई २ करोड ५० लाख पाउन्डको आर्थिक सहयोगको घोषणा गर्नेछन्। यो रकम युृक्रेनी सैनिक र पाइलटहरूको भुक्तानीका लागि दिन लागिएको हो।
बेलायत सरकारले युक्रेनमा जारी लडाईंलाई मध्यनजर राखेर युक्रेनी र रुसी भाषा सेवाहरूलाई सहयोग गर्न बीबीसी विश्व सेवालाई ४१ लाख पाउन्ड पनि उपलब्ध गराउने भएको छ।
‘बेलायतले युक्रेनलाई सैन्य तथा अन्य आर्थिक सहायता प्रदान गर्न उसका सहयोगीहरूसँग मिलेर अघि बढ्नेछ। यसले युक्रेनको प्रतिरक्षा बलियो हुने हाम्रो आसा छ,’ जोनसनले भने।
‘युक्रेनमाथि आक्रमण भएको एक महिना भइसक्यो। अन्तर्राष्ट्रिय समुदायको अगाडि एक मात्र विकल्प भनेको युक्रेनमा स्वतन्त्रताको ज्वालालाई जीवित राख्नु हो। त्यसो गरिएन भने पूरा युरोप र विश्व जल्ने जोखिम बढ्छ,’ जोनसनले भने।
बेलायतले नयाँ सहायता प्याकेज युक्रेनी सेनालाई बेलायतले पहिले नै उपलब्ध गराइसकेका झण्डै ४ हजार क्षेप्यास्त्रभन्दा अतिरिक्त हुने जनाएको छ।
यसअघि बेलायतले युक्रेनलाई ४० करोड पाउन्ड दिने प्रतिबद्धता जनाएको थियो। अहिले घोषणा गरेको अढाइ करोडको सहायता पनि पहिलेको आर्थिक सहायतामा बाहिरको हो।
बीबीसीबाट