स्वतन्त्रता र राजनीतिक अधिकार प्राप्तिको आन्दोलनबाट शुरु भएको नेपाली विद्यार्थी आन्दोलनले आजको मितिसम्म आइपुग्दा विशाल बलिदानको सगरमाथा निर्माण गरेको छ। सोही बलिदानका कारण आज नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य बनेको हो।
हिजो आधारभूत मानव अधिकारबाट वञ्चित नेपाली समाजमा आज विश्वका कैयन् विकसित र सभ्य भनिने मुलुकको भन्दा बढी अधिकार नेपाली जनताले पाएका छन्। हुकुमी जहानियाँ राणा शासन, एकदलीय पञ्चायत प्रणाली, पटक-पटकका शाही ‘कू’ वा निरंकुश राजतन्त्रात्मक शासन व्यवस्थाविरुद्ध क्रान्तिको शंखघोष गरी ठूलो बलिदानपूर्ण संघर्ष र निकै निष्ठापूर्वक क्रान्ति सफलीभूत पारेको दृष्टान्त हाम्रो सामु ताजै छ।
तत्कालीन नेपाल प्रजा परिषद सदस्य त्रिचन्द्र क्याम्पसका विद्यार्थी अमर शहीद गंगालाल श्रेष्ठको शहादत र उहाँको रगतबाट जन्मेका तत्कालीन समयका असंगठित विद्यार्थी आन्दोलन, जसले राणा शासनविरुद्ध लड्ने साहस देखाए। विसं २००४ को जयतु संस्कृतम आन्दोलनलगायत नेपाल र भारतमा स्थापित केही विद्यार्थी आन्दोलनले विद्यार्थी अधिकार र आम स्वतन्त्रताको विषयमा आवाज संगठित गर्दैगर्दा ००६ सालमा स्थापना भएको अखिल नेपाल विद्यार्थी फेडेरेसन (अनेविफे)को स्थापना भयो। यो नै नेपालको पहिलो संगठित विद्यार्थी संगठन थियो।
अनेविफेदेखि आजको मितिमा अस्तित्वमा रहेका अनेरास्ववियू, नेवि संघ, नेक्रावि संघलगायत अन्य विभिन्न संघसंगठन र सबै विद्यार्थीको साझा संस्था स्वतन्त्र विद्यार्थी युनियनले आ-आफ्नो भूमिका वहन गर्दै आएका छन्। इतिहासमा राजनीतिक दललाई प्रतिबन्ध लगाउँदा पार्टीकै भूमिकासमेत विद्यार्थी आन्दोलनले वहन गरेको पाइन्छ। आफ्नो विगतलाई फर्केर हेर्दा विद्यार्थी आन्दोलनले आफ्नो आजसम्मको जीवनको ठूलो समय राजनीतिक व्यवस्था परिवर्तनमै खर्चेको छ।
प्रजातन्त्रको स्थापना-२००७, झापा विद्रोह-२०२८, जनमत संग्रह-२०३६, बहुदलीय व्यवस्था-२०४६, महान जनयुद्ध-२०५२, संघीय गणतन्त्र स्थापना- ०६२-६३ र संविधानसभाबाट नयाँ संविधानको निर्माण-०७२ यी सबै उपलब्धीमा विद्यार्थी आन्दोलनले महत्त्वपूर्ण भूमिका वहन गरेका थिए।
कैयन् हाम्रा अग्रजहरूले शहादत प्राप्त गरे। कैयन् अंगभंग भएका छन्। केही आजको मितिमा पनि बेपत्ता पारिएका छन्। धेरैले आफ्नो सम्पूर्ण जीवन राजनीति र समाजसेवामै सुम्पेका छन्। विद्यार्थी आन्दोलनको कुर्बानी र बलिदानको जगमै आज हामी यो ठाउँमा पुगेका हौं। यो आन्दोलनको विरासतलाई नजरअन्दाज गर्ने कुचेष्टा कहीं कतैबाट हुन्छ भने त्यो दिवास्वप्न मात्रै हुनेछ।
हो, हाम्रो भूमिका केही कमजोर बनेको छ। तर, हिजो र आजको विद्यार्थी आन्दोलनको जिम्मेवारी निकै फरक पनि हो। हिजो हामी अधिकार प्राप्तिको लडाईंमा थियौं। तर, आज सबै अधिकार प्राप्त भएको स्थितिमा छौं। मात्रै अबको बाटो विकास र समृद्धिको हो। अबको हाम्रो कर्म पनि यही बाटोमा केन्द्रित हुनुपर्छ।
विकास र समृद्धिको बलियो आधार नै शिक्षा हो। शिक्षाबिना समृद्धि सम्भव छैन। विद्यार्थी आन्दोलनको प्रमुख एजेन्डा नै शैक्षिक प्रणालीमा सुधार ल्याउनु हो। त्यसकारण अबको विद्यार्थी आन्दोलनको मुख्य कार्यभार नै प्रगतिशील शैक्षिक प्रणालीमार्फत मुलुकलाई विकसित र समृद्ध बनाउनु हो। अबको आन्दोलन रचनात्मक हुनुपर्छ। ढुंगामुडा गर्ने, टायर जलाउने, बन्द हड्ताल गर्ने, शैक्षिक संस्थामा तालाबन्दी र तोडफोड अबको हाम्रो मिसन कदापि हुनु हुँदैन।
जसरी हाम्रा अग्रजहरूले यो आन्दोलनलाई आम नागरिकको आशा, विश्वास र भरोसा बनाएका थिए। व्यवस्था परिवर्तनका हरेक चरणमा विद्यार्थी आन्दोलनलाई जनताको सच्चा पहरेदार, देशभक्तिपूर्ण आन्दोलनको एक कुशल अभियन्ता, सामाजिक-सांस्कृतिक रूपान्तरणको मियो र शैक्षिक सुधारको सतिसाल बनेको विद्यार्थी आन्दोलन कुनै पनि हालतमा डगमगाउने वा बाटो बिराउने होइन, अविच्छिन्न अगाडि बढ्नुपर्छ।
मुलुकलाई आर्थिक र सामाजिक रूपान्तरण नगरी हामी समानता र न्यायको प्रत्याभूति दिलाउन सक्दैनौं। त्यसका लागि माटो सुहाउँदो मौलिक शिक्षा प्रणाली आवश्यक छ। हामी प्राकृतिक स्रोत साधनले निकै धनी मुलुक हौं। जल, जमिन, जंगल, जडिबुटी, पर्यटन, संस्कृति र मौलिक सभ्यता हाम्रा अमूल्य निधि हुन्। यिनीहरूको भरपुर प्रयोग गर्ने मोडलको रोजगारमुलक, सीपमुलक, प्राविधिक तथा व्यवहारिक शिक्षा आजको आवश्यकता हो। अबको विद्यार्थी आन्दोलन यी सवालहरूमा केन्द्रित हुनुपर्छ। तब मात्रै हामी समाजवादको गन्तव्यमा पुग्न सक्छौं। र, हाम्रो शिक्षाले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्छ।
हाम्रा विश्वविद्यालयहरू सुधारौं। परम्परागत बैंकिङ शिक्षा प्रणालीबाट सिकाइने ज्ञानले विद्यार्थी सक्षम बन्न सक्दैनन्। सिकाइ सहभागितामुलक हुनुपर्छ। यो भूमिका अबको हाम्रो पुस्ताले वहन गर्न सक्नुपर्छ। इतिहासले हामीलाई सुम्पेको जिम्मेवारी पनि यही हो। सम्पूर्ण जालझेल, खुराफात, कालाबजारी, गुटबन्दी, भ्रष्टाचारको चंगुलबाट विद्यार्थी आन्दोलनलाई मुक्त गराई विश्व परिवेशको समीक्षा गरी निष्ठा र सत्कर्मको बाटोमा विद्यार्थी आन्दोलनलाई गति प्रदान गरौं।
विद्यार्थी आन्दोलनको सवालमा बजारमा जे जस्ता अफवाह ओकलिँदैछ, त्यो स्थिति किन सिर्जना हुँदैछ ? समीक्षा गरौं। विद्यार्थीका एजेन्डा नभुलौं। विद्यार्थी आन्दोलनको नेता संगठन भर्खरै एकताबाट अझै विशाल र बलियो बनेको अनेरास्ववियू र नेवि संघलगायत अन्य संघसंगठनहरूलाई यो विषयको गहिरो बोध हुन जरुरी छ।
विद्यार्थी आन्दोलनको औचित्यको विषयमा पार्टीका जिम्मेवार नेताहरू प्रश्न गरिरहेका छन्, जसको राजनीतिक करिअर यही आन्दोलनबाट स्थापित भएको थियो। के विद्यार्थी आन्दोलनको चरित्रमा बदलाव आएको हो? के हामी युगिन परिवर्तनसँगै चल्न वा गति लिन नसकेको हो? समीक्षा गरौं। त्रुटि कहाँबाट हुँदैछ ? ठोस कार्ययोजनासहित अगाडि बढौं। पुनः विद्यार्थी आन्दोलन र यसको औचित्य आम विद्यार्थी र जनसमुदायलाई बोध गराऔं। इतिहासको विरासत बोक्ने जिम्मा हाम्रो हो। त्यसका लागि हामी हरदम तयार छौं।
(लेखक अनेरास्ववियु केन्द्रीय लेखा आयोगका सदस्य हुन्)