कैलाली । कैलालीको धनगढी स्थित ओम प्यालेसमा आज र भोलि हुने दुईदिने श्रमाधान राेजगार मेलाको उदघाटन उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका छन । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले पुर्वको कोशीबाट शुरु गरेको श्रमाधान मेला यहि जेठ २७ र २८ गते धनगढीमा संचालन हुदैछ ।
श्रमाधान मेलाको उदघाटन गर्दै मन्त्री भण्डारीले यस्ता कार्यक्रमले प्रत्यक्ष रोजगारीको शृजना हुने बताए । उनले श्रमाधान मेलाले रोजगारीको खोजिमा रहेकाहरु र कामदारको खोजीमा रहेकाहरुको रोजगारदाताहरुसंग प्रत्यक्ष सम्पर्क हुनेहुदा धेरै भन्दा धेरैजनाले सोझै रोजगार पाउने बताए ।

त्यस्तै कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफुले काठमाडौ जादा त्यहा काठमाडौ महानगरपालिकाले टुडिखेलमा आयोजना गरेको रोजगार मेलाको अवलोकन गरेको बताउदै यस्तै मेला धनगढीमा समेत आयोजना गर्न आग्रह गरेको बताए ।
उनले धनगढी उपमहानगरपालिकाले खुलामञ्चमा बेरोजगार युवाहरू लक्षित रात्रीकालिन बजारको परिकल्पना गरेको बताउदै तालिम पश्चात् ती युवाहरुलाई खुलामञ्चमा ब्यबसाय संचालनका लागि सहयोग गर्ने बताए ।
सूदूरपश्चिम प्रदेशमा दुई हजार ५ सय भन्दा धेरैलाई राेजगारीकाे अवसर आएकाे छ । सरकारले आयाेजना गरिरहेकाे श्रमाधान राेजगार मेलामार्फत विभिन्न क्षेत्रका राेजगारदाताले अहिलेसम्म २ हजार ६६४ कामदार माग गरेका नेपाल तालिम तथा रोजगार ब्यबसायी महासंघका महासचिव छत्र बहादुर बमले बताए । राेजगारदाताबाट कामदार माग हुने क्रम बढ्दाे क्रममा रहेकाे उनले बताए ।

त्यस्तै, करिब ५ हजार भन्दा बढीले रोजगारको लागि आवेदन दिएको बताउदै महासचिव बमले भोलिसम्ममा यो संख्यामा समेत वृद्धि हुने बताए । उनले सरकारले ताेकेकाे न्यूनतम तलबभन्दा बढी दिनेगरी कामदार आवश्यक रहेकाे भनेर राेजगारदाताले माग गरेको बताए ।


