काठमाडौँ । नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् । प्रेस सेन्टर नेपालको लुम्बिनी प्रदेशमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले तोकिएकै मितिमा निर्वाचन हुने बताएका हुन् ।
उनले आफ्नो पार्टी सकेसम्म आफ्नै तयारी गरी निर्वाचनमा होमिने बताए । ‘आफ्नै तागतमा निर्वाचनमा जाने हाम्रो उद्देश्य हो, आफ्नै तागतमा जनताको मन जितेर अगाडि बढ्ने हो,’ प्रचण्डले भने, ‘अहिले गठबन्धन दलहरूको नेतृत्वमा कुनै अन्योल देखिएको छैन, तर केही नेताहरूले गठबन्धनविरुद्ध बोल्दै आउनु भएको छ, हामीले जुन हिसाबले गठबन्धन बनाएको थियौँ, त्यो भने कायमै छ ।’
पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा गठबन्धन तोडिने हो कि जस्तो भएको बताए । उनले भने, ‘एमसीसीको विषयलाई लिएर गठबन्धन तोडिने जस्तो थियो, तर व्याख्यात्मक घोषणासँगै यो स्थिति समाधान भएको छ ।’
प्रचण्डले एमसीसी अनुमोदन हुने बेलामा एक खालको संशय देखिएको बताए । उनले भने, ‘अब गठबन्धनको संशय अवस्था टरेको छ, गठबन्धन चुनावपछि पनि कायम हुने देखिएको छ ।’