युवामा बढ्दो लागूऔषधको प्रयोग अब बल्ल स्थानीय सरकारहरूको समेत चासो र चिन्ता बनेको छ। युवा-युवतीहरू लागूऔषधको दुर्व्यसनमा परी आफ्नो जीवन बर्बाद गरिरहेका छन्। त्यसको अर्थ हो, हामीले आज गरेका विकास निर्माणका काम मात्रै पर्याप्त छैनन्, बरु उनीहरूको जीवन परिवर्तनका योजनाहरू कार्यान्वयनमा ल्याउनु आवश्यक छ। यो तथ्य स्थानीय सरकारका प्रतिनिधिहरूले बुझ्न थाल्नु सकारात्मक छ।
नेपाल सरकारकै तथ्यांकअनुसार ०६३ सालमा ४६ हजार र ०६९ मा ९१ हजार रहेको लागूऔषध प्रयोगकर्ताको संख्या ०७६ सालमा आइपुग्दा १ लाख ३० हजार पुगेको देखिन्छ। कोशी प्रदेशमा ५९२ महिलासहित २७ हजार ६०५ लागूऔषध प्रयोगकर्ता रहेको देखाइएको छ। यस्तै, खाद्यान्न र औषधिसमेत पुग्न कठिन हुने कर्णाली प्रदेशमा ४३ महिलासहित १ हजार ८११ जना लागूऔषध प्रयोगकर्ता छन्।
आज कुनै यस्तो ठाउँ छैन, जहाँ लागूऔषध प्रयोगकर्ताहरू नहुन्। एक प्रहरी कर्मचारीका अनुसार हिजो धनी र उच्च आम्दानी भएका परिवारका सदस्यहरू लागूऔषध उपभोग गर्थे, आज लागूऔषध प्रयोग गर्नकै लागि मजदुरी गरी कमाएको पैसा खर्च गर्ने तल्लो वर्ग अर्थात विपन्न परिवारका सदस्यहरू समेत समावेश भएका छन्। सुर्तिजन्य पदार्थको सेवन नगर्ने युवा भेट्न कठिन भएको छ। विद्यालय जाने बालबालिकाहरू समेत सुर्तिजन्य गुटखा सेवनको लतमा परेको पाइन्छ। स्कुल सकेका बालबालिकाहरू सुर्तिजन्यबाट चुरोट हुँदै गाँजाको सेवनमा समेत परेका पाइएको छ।
यस्तो अवस्थामा आखिर यो लागूऔषधप्रतिको आकर्षणको कारण के हो भन्ने बुझ्न जरुरी भएको छ। कुनै पनि रोगको पहिचान नभएसम्म सही औषधि सिफारिस हुँदैन। लागूऔषध प्रयोग बढ्ने अनेकन कारणहरू मध्ये राज्यका नीति र राज्य सञ्चालकहरूको व्यवहार र आचरणसमेत केही हदसम्म जिम्मेवार त छैन ? यसमा अब छलफल आवश्यक भएको छ।
केही जानकारहरूले नेपालमा लागूऔषधको प्रयोग बढ्नुमा हिप्पीहरूको प्रवेश र मौलाएको गाँजा संस्कृतिलाई समेत जोड्ने गरेको पाइन्छ।
सन् १९५५ देखि १९७५ सम्म अमेरिका-भियतनाम युद्ध चरम उत्कर्षमा पुगेको समयमा ५८ हजार अमेरिकी सैनिक मारिएका थिए भनिन्छ। युद्धबाट हार पनि हात लाग्छ भन्ने थाहा नभएको अमेरिकी सरकारले ठूलो संख्यामा आफ्ना सैनिक मारिएपछि अमेरिकी युवालाई जबर्जस्ती सेनामा भर्ना गर्न थालेको थियो। भियतनामको समस्या हाम्रो समस्या होइन भन्दै युद्ध मन नपराउने युवा-युवतीहरू मेरो जीवन मेरो छनोट भन्दै शान्तिको खोजीमा सांकेतिक विद्रोहसहित युवा पुस्ता अमेरिकाबाट निस्किए। अमेरिकी शहरबाट निस्किएका ती युवा युरोप र मध्यपूर्वबाट दक्षिण एसिया हुँदै करिब २ सयजना काठमाडौं आइपुगेका थिए।
तत्कालिन समयमा काठमाडौंमा पाइने प्राकृतिक गाँजा उनीहरूका लागि बडो आवश्यकताको वस्तु हुन पुग्यो। भनिन्छ- हिप्पी युवा गाँजा सेवनमा लठ्ठिन थाले र क्रमशः नेपाली युवाले समेत त्यसैको सिको गर्न थाले। त्यसबेला गाँजाको व्यापारसमेत हुन थालेको बताइन्छ। हिप्पीहरूको प्रवेशसँगै मौलाएको गाँजाजन्य व्यापारले अमेरिकी सरकारको समेत चिन्ता बढायो र लागूऔषध नियन्त्रण ऐन, २०३३ बनाएर लागू गरियो।
आजका दिनमा खुला सिमानाका कारण लागूऔषध भित्रिन सजिलो हुन्छ भन्ने कथनसमेत काम नलाग्ने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत ठूलो मात्रामा लागूऔषध भित्रिएको बेलाबेलामा समाचारहरू आएकै छन्। वैदेशिक रोजगारमा गएर फर्केकाहरूले ल्याएको केही तोला सुन, मोबाइलजस्ता वस्तुहरू स्पष्ट देखिने स्क्यानरमा किन लागूऔषध देखिँदैन भन्ने प्रश्नहरूको सामना बेलाबखतमा गर्नु परेकै छ।
अझ, कोभिड-१९ महामारीको समयमा भएको सीमा बन्दका अवस्थामा समेत लागूऔषध आइरहेकै थियो। र, त्यस्तो अवस्थामा पनि कसरी लागूऔषध आयो भनेर समुदायका मानिसहरूले सोधेको प्रश्नसमेत अनुत्तरित नै छ।
यस्तो अवस्थामा स्थानीय सरकारहरूले लागूऔषध नियन्त्रणका लागि सामाजिक परिचान गर्नु अत्यन्त सकारात्मक मान्न सकिन्छ। यो सामाजिक समस्या भएका कारण समाजका सबै सदस्यहरूले सामुहिक प्रयास गर्दा मात्रै यसको नियन्त्रण सम्भव हुने हो। तर, यस्ता अभियानहरूमा हाम्रो इमानदारितामाथि प्रश्न उठ्न थालेको छ।
सार्वजनिक स्थलबाट १०० मिटर टाढा मात्रै सुर्ति र मदिराजन्य वस्तुको कारोबार गर्ने भनिए पनि सार्वजनिक स्थलकै वरपरका पसलहरूमा खुलेआम सुर्तिजन्य वस्तुहरूको व्यापार गर्दासमेत हामी चुप छौं। कम्तीमा सार्वजनिक स्थलको १०० मिटरभित्र मदिरा निषेधित क्षेत्र हो भनेर सूचना पाटीसमेत राख्न नसकेको अवस्था छ। यस्तो अवस्थामा कुनै पसल र व्यापारीको समेत पहिचान नहुने लागूऔषधको कारोबार र सेवा रोक्न सहज भने छैन।
ठूलाबडाहरू नै साँझमा भट्टी प्रवेश गर्नु र मदहोस भई घरमा पुग्नु, अझ चुपचाप लागेर सुत्नुको साटो गाउँ नै थर्काउने गरी होहल्ला गर्नु, मादक पदार्थहरू जताततै बिक्री-वितरण गर्दासमेत नियामक निकायहरू मुकदर्शक बन्नु, आफ्ना बालबालिका के गर्दैछन् भन्ने सूक्ष्म निगरानी नगर्नु, आवश्यकताभन्दा बढी पैसा उपलब्ध गराउनु, तनाव व्यवस्थापन गर्ने विधिको अभाव हुनु, लागूऔषधलाई बल पुग्ने धार्मिक क्रियाकलापहरू गरिनु, महोत्सवलगायत जमघटहरूमा जाने बालबालिकालाई अभिभावक र नियामक निकायले अनुगमन नगर्नुजस्ता क्रियाकलापले युवा पुस्ता लागूऔषधको लतमा फस्दै गएको देख्न सकिन्छ।
यस्तो अवस्थामा स्थानीय समुदायसँग प्रत्यक्ष रूपमा जोडिने स्थानीय सरकारले लागूऔषध दुर्व्यसन न्यूनीकरणका लागि गरिने क्रियकलापहरूमध्ये सबैभन्दा पहिला सुर्ति तथा मादक पदार्थजन्य वस्तुको बिक्री-वितरणलाई कानूनको दायरामा ल्याउन जरुरी छ।
छिमेकी मुलुक भारतको उदाहरण हेरौं। भारतमा नेपालमा जस्तो खुलेआम नभई मुख्य शहरभन्दा ५०० मिटर दुरीमा मात्रै मदिराको बिक्री-वितरण गर्ने व्यवस्था देखिन्छ। सुर्तिजन्य वस्तुहरूको बिक्री-वितरणसमेत लुकाएर गर्ने गरिइएको पाइन्छ। यस्ता क्रियाकलापले समाजका ठूला व्यक्तिहरू समेत अनुशासनमा बस्नुपर्ने अवस्था सिर्जना हुनेछ।
लागूऔषधको आपूर्ति नियन्त्रणका लागि गृह मन्त्रालयअन्तर्गतको नार्कोटिक ब्युरो सक्रिय छ। विभिन्न दातृ निकायहरूले लागूऔषधबाट उत्पन्न हुने जोखिम न्यूनीकरणका कार्यक्रमहरू सञ्चालन गरेकै छन्। तर, ती सबै क्रियाकलाप समुदायका मानिसहरूको जानकारीमा छैन। त्यसैले समुदायका सबै मानिसलाई लागूऔषध मात्र नभई लागू पदार्थ र सुर्तिजन्य वस्तुहरूको सामाजिक, आर्थिक र स्वास्थ्यसम्बन्धी असरहरूबारे जानकारी गराउने क्रियाकलापमा जोड दिने हो भने केही सफलता प्राप्त हुन सक्छ।