आम आदमी पार्टीका नेता भगवन्त मानले पञ्जाबको मुख्यमन्त्रीको सपथ लिएका छन्। उनको सपथ ग्रहण समारोह पञ्जाबको नवान सहरमा रहेको भगत सिंहको जन्मभूमि खटकर कलानमा भएको थियो।
विगतमा पञ्जाबका मुख्यमन्त्रीको पदको सपथ ग्रहण कार्यक्रम मुख्यमन्त्री कार्यालयमै हुने गथ्र्यो। भगवन्तले भने त्यसलाई तोड्ने प्रयास गरेका छन्। भगवन्तले चुनावी अभियानमा पनि मुख्यमन्त्री भएमा सरकारी विलासिता कम गर्ने प्रतिबद्धता जनाएका थिए।
राज्यका गर्भनर बनवारीलाल पुरोहितले भगवन्त मानलाई पद तथा गोपनियताको सपथ गराएका थिए। भगवन्त मानले पञ्जाबी भाषामा भगवानको नाममा शपथ लिए। उनी पञ्जाबका १७ औं मुख्यमन्त्री हुन्।
भगवन्त मानको सपथ ग्रहण समारोह अवलोकनको लागि ठूलो संख्यामा मानिसहरु खटकर कलान पुगेका थिए। धेरैले पहेँलो पगडी र पहेँलो नै दुपट्टा लगाएका थिए। खासमा भगवन्त मान आफैले यस्तो अपील गरेका थिए। भगत सिंह अक्सर पहेँलो पगडी लगाउने गर्थे र त्यसलाई ध्यान दिएर यस्तो अपील गरिएको बताइन्छ। भगवन्त मान आफै पनि पहेँलो पगडी लगाउँछन्।
रिपोर्टहरुका अनुसार सो कार्यक्रममा कुनै पनि भीआईपीलाई निमन्त्रणा गरिएको थिएन। तथापि आम आद्मी पार्टीका नेता तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल भने समारोहमा उपस्थित थिए।
के भने भगवन्त मानले ?
मुख्यमन्त्रीको सपथ लिएपछि भगवन्त मानले समारोहमा उपस्थिति सर्वसाधरणहरुलाई सम्बोधन गरेका थिए। भगवन्त मानले सम्बोधनम भने, ‘सपथग्रहण समारोहमा आउन भएकोमा म सबैलाई धन्यवाद दिन्छु। यो मायाको ऋण तिर्न कयौं जन्म लिनु पर्छ। तपाईंले मार्च १० मा इतिहास रच्नु भयो। यदी भोलि कसैले लोभ र डरबिना जनताले कहिलेदेखि भोट हाल्न थाले भनेर प्रश्न गरे भने २० फरवरी २०२२ जवाफ आउनेछ।’
उनले भने, ‘म सबै नयाँ विधायकहरुलाई घमण्ड नगर्न अपील गर्दछु। नाराबाजी गर्नु पर्ने आवश्यकतै छैन। मलाई जसले भोट दिएनन् म तिनको पनि मुख्यमन्त्री हु, यो सरकार तिनको पनि हो। जनताले चाहे भने आकाशमा पु¥याउँछन्, चाहेनन् भने जमिनमा ल्याइदिन सक्छन्। सम्बोधनमा उनले शहीद भगत सिंहको भनाई उद्धृत गर्दै भने, ‘माया गर्नु सबैको जन्मसिद्ध अधिकार हो, किन यसपटक देशको भूमिलाई नै प्रेमी नबनाउने।’
‘हामीले हाम्रो देशलाई ठीक गर्नेछौं। तपाईंसँगै बसेर हामी तपाईंको लागि काम गर्नेछ। बेरोजगारी, कृषि, भ्रष्टाचार, विद्यालय, अस्पताल जस्ता धेरै विषयमा यहाँ काम गर्नुपर्ने हुन्छ। हामीलाई तपाईको सहयोग चाहिन्छ,’ भगवन्त मानले भने।
सम्बोधनमा भगवन्तले आगामी दिनमा आफूले पञ्जाबमा उच्चकोटीका विद्यालय र अस्पताल बनाउने घोषणा गरे। ‘ती यस्ता हुनेछन् की बाहिरबाट मानिसहरु हेर्न आउनेछन्,’ भगवन्तले दावी गरे। सम्बोधनमा उनले आम आद्मी पार्टीक नेता दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र उपमुख्यमन्त्री मनिष सिसोदियालाई पनि धन्यवाद दिए।
पञ्जाबमा आम आदमी पार्टीको ठूलो जीत
पञ्जाब विधानसभा चुनावमा आम आद्मी पार्टीले पूर्ण बहुमत प्राप्त गरेको छ। मार्च १० मा सार्वजनिक चुनावी नतिजामा पार्टीले पञ्जाबको ११७ सिटमध्ये ९२ सिट जितेको थियो। सो चुनावमा कांग्रेसले १८, भाजपाले २ र अकाली दलले ३ सिट जितेका थिए।
कांग्रेस र अकाली दलजस्ता पञ्जाबका प्रमुख दलहरूलाई पाखा लगाएर आम आदमी पार्टीले हासिल गरेको जितलाई ऐतिहासिक विजयको रूपमा हेरिएको छ।
पुराना दलका कयौं दिग्गज नेताले आफ्नो गढबाट चुनाव हारेका छन्। पञ्जाबका पूर्व मुख्यमन्त्री चरणजीत सिंह चान्नी, क्याप्टेन अमरिंदर सिंह, अकाली दलका नेता प्रकाश सिंह बादलले समेत यस पटक तिनको गढबाट क्षेत्रबाट हारे।