पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विवादास्पद विश्वासको मतविरुद्ध नेपाली कांग्रेस सर्वोच्च अदालत पुगेको छ।
Advertisement
सभामुख कृष्णप्रसाद धितालले ३० सांसदको समर्थन पाएका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत पाएको घोषणा गरेपछि कांग्रेस गण्डकी संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुखको उक्त घोषणाविरुद्ध मंगलवार सर्वोच्चमा रिट दायर गरेका हुन्।
६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सांसदको समर्थन हुनुपर्नेमा ३० सांसदको समर्थनलाई बहुमत मान्ने कार्य गैर संवैधानिक भएको कांग्रेसको ठहर छ। कांग्रेसले विश्वासको मत लिने प्रक्रिया त्रुटिपूर्ण भएको पनि ठहर गरेको छ।
कांग्रेसले संविधानको धारा १६८ को उपधारा २ बमोजिम गठन भएको सरकारले विश्वासको मत लिन नसकेकोले उपधारा ३ बमोजिम सरकार गठनका लागि परमादेश जारी गर्न पनि माग गरेको छ।