काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) देशको हितमा रहेको बताएका छन् । नुवाकोटमा आयोजना भएको एक कार्यक्रममा उनले एमसीसी देशको हितमा भएको बताएका हुन् ।
हालै प्रतिनिधिसभाबाट पारित भएको एमसीसी परियोजनाका बारेमा गरिएका नकारात्मक टिप्पणी भ्रम मात्र भएको प्रधानमन्त्री देउवाको धारणा थियो । उनले यस परियोजनाको विरोध गर्ने एमाले नेता भीम रावलले आफै मन्त्रिपरिषदमा रहँदा सो परियोजना पास गरेको बताए ।
‘आफैँ मन्त्री भएका बेला मन्त्रिपरिषदबाट पास गरेका भीम रावलले त्यसबेला किन आलोचना गर्नु भएन ? त्यतिबेला राजीनामा नदिएर के हेरेर बसेको ?,’ देउवाले भने, ‘आफू पार्टीको नेता र मन्त्री हुँदा आफैले मन्त्रिपरिषदबाट पारित गर्ने अनि अहिले किन विरोध गर्दैछन् ? विरोध गर्ने भए त्यसैबला मन्त्रीबाट राजीनामा दिएर बाहिर आउनु पर्दैनथ्यो ?’
प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा ल्याएको प्रस्तावलाई आफूले पारित गरेको स्पष्ट गरे । उनले रावल मन्त्री हुँदा एसमसीसीको प्रक्रियाअघि बढेको सुनाए ।
उनले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एमसीसीका बारेमा जवाफ दिनै पर्ने भो भन्दै पूर्वमन्त्री एवं एमाले नेता रावलप्रति आक्रोश पोखेका हुन् ।