काठमाडौं– अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र सोसल मिडिया प्लेटफर्म एक्सका मालिक एलोन मस्कबीच शब्दको युद्ध जारी छ।
प्रधानमन्त्री अल्बानीजले एलोन मस्कलाई ‘अहंकारी अर्बपति’को संज्ञा दिएका छन्। गत हप्ता सिड्नीको एक चर्चमा बिशपमाथि चक्कु प्रहारको फुटेजलाई लिएर यी दुईबीच शब्दको लडाई चलिरहेको छ।
सोमबार अष्ट्रेलियाको एक अदालतले एलोन मस्कको एक्सलाई सिड्नी आक्रमणको भिडियो हटाउन आदेश दिएको थियो। प्रधानमन्त्री अल्बानीजको बयान एलोन मस्कले एक मिम साझा गरेपछि आएको हो। मिमको माध्यमबाट मस्कले अस्ट्रेलिया सरकारमाथि सेन्सरसिपको आरोप लगाएका थिए।
लामो रस्साकस्सीबीच बिशपमाथि भएको आक्रमणको भिडियो अस्ट्रेलियाका प्रयोगकर्ताहरूका लागि हटाइएको छ। तर अस्ट्रेलिया बाहिरका प्रयोगकर्ताले भने उक्त भिडियो निर्बाध हेर्न सक्छन्।
मंगलबार प्रधानमन्त्री अल्बानीजले एबीसी न्यूजलाई भने, “एलोन मस्कलाई लाग्छ कि उनी कानून मात्र होइन, शिष्टताबाट पनि माथि छन्।”
गत हप्ता अष्ट्रेलियाको स्वतन्त्र नियामक ई-सुरक्षा आयुक्तले एक्स लगायत अन्य सोशल मिडिया कम्पनीहरूलाई गुड शेफर्ड चर्चमा भएको आक्रमणको भिडियोहरू नहटाए भारी जरिवाना गर्ने चेतावनी दिएका थिए।
“मलाई यो असामान्य लाग्छ कि एक्सले आदेशको पालना गर्नुको सट्टा आफ्नो मुद्दा बहस छेड्ने काम गरेको छ,” अल्बानीजले भने।