काठमाडौं– सशस्त्र प्रहरी बलका निरीक्षक (इन्स्पेक्टर) प्रकाशबहादुर चन्दको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पाइएको छ।
सशस्त्र प्रहरी बल, ३६ नम्बर गण डोटीमा दरबन्दी भएका चन्दले भारतीय विद्यालयमा पढेको भन्दै नक्कली प्रमाणपत्रको आधारमा सशस्त्रमा नियुक्ति लिएको खुलेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
चन्दले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कुल ऐण्ड इण्टरमीडिएट एजुकेशन यु.पी.बाट जारी भएको हाइस्कुल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सशस्त्र प्रहरी परिचर पदमा नियुक्ति लिई त्यस पश्चातका माथिल्ला विभिन्न पदको लागि समेत सोही प्रमाणपत्र पेश गरेको खुलेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए।
हाल सशस्त्र प्रहरी निरीक्षक पदमा रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेको र उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा इनस्पेक्टर चन्दलाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना मागदाबी गर्दै सोमबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।