काठमाडौँ । नेपाल सरकारले दुई वर्षदेखि बन्द भएको श्रमिकको प्रमुख गन्तव्य मुलुक मलेसिया जाने श्रमिकलाई पुनः श्रम स्वीकृति दिन
सुरु गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन् ।
मलेसिया सरकारबाट नेपालीलाई प्राप्त रोजगारीको अवसर गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल–मलेसिया श्रम सम्झौता प्रतिकूल नहुने गरी नेपाली कूटनीतिक नियोगबाट प्रमाणीकरण भई आएका माग पत्रलाई श्रम स्वीकृति दिने निर्णय भएको छ ।
कोरोना महामारीले सन् २०२० मार्चदेखि मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेसँगै नेपाली श्रमिक जान पाएका थिएनन् । मलेसिया सरकारबाट विदेशी कामदार लिन सुरु गरेपछि सोअनुसार माग पत्र नेपाली कूटनीतिक नियोगबाट प्रमाणीकरण भई आएको मन्त्री श्रेष्ठले जानकारी दिए ।