मानव-हात्ती सहअस्तित्वको विकास गर्ने नामका सुन्दर र आकर्षक लाग्ने कथा जति नै सुनाए पनि अथवा मानव-हात्ती सहअस्तित्वका लागि पैदल यात्रा जति नै हिँडे पनि कस्तो खालको सहअस्तित्वको निर्माण हुने हो भन्ने कुनै रूपरेखा अझै कोरिएको छैन। आखिर दुवै प्राणी नै हुन्, जसलाई बाँच्नका लागि न्यूनतम आवश्यक आहारा र आवास कम्तीमा अन्य जन्तुहरूका लागि पनि अत्यावश्यक हुन्छ भन्ने बुझ्ने हो भने अभियन्ताहरू वन्यजन्तुको आहारा र वासस्थानका पक्षमा समेत वकालत गरेका हुने थिए। जसरी मानिसका लागि मनोरञ्जनको आवश्यकता पर्छ, त्यसैरी नै जनावरलाई समेत आवश्यक हुन्छ भन्ने बुझ्ने हो भने अझ राम्रो हुने थियो। तर, दुर्भाग्य नै भन्नुपर्छ, संरक्षणका नाममा गरिने ठूल-ठूला कार्यक्रमहरूले यी पक्षलाई सम्बोधन गर्न सकेका छैनन्। सोही कारण मानव-वन्यजन्तु द्वन्द्व घट्नुको साटो बढ्दै गएको देख्न सकिन्छ।
यो आलेख तयार गर्नुभन्दा करिब ३ दिनअघि मात्र मेचीनगर नगरपालिकाको धाइजनको जगंलमा एउटा हात्ती मृत फेला परेको समाचारहरू आएका छन्। अझ मृत हात्तीको दारासमेत काटिएको तस्बिर सार्वजनिक भएको छ। ठूलो र लोपोन्मुख जनावर यस्तो अवस्थामा मरेको हो वा मारिएको हो भन्नेबारे सम्बन्धित क्षेत्रका विज्ञहरूले खोज पड्ताल गर्दै गरून् तर सुरक्षित वासस्थान नबनाउने हो भने यस्ता खालका घटना फेरि पनि नदाहोरिएलान् भन्न सकिँदैन।
वन क्षेत्र भए पनि प्राकृतिक स्वरूपको वन हराएको छ। बरु त्यसको बदला छिट्टै बढ्ने टिकलगायत वनस्पतीका कारण वन क्षेत्र वन्यजन्तुको आहारा उत्पादन हुन नसक्ने गरी कृत्रिम बन्दैछ। जसका कारण ठूला वन्यजन्तुहरू आहाराको अभावमा मानव बस्तीमा प्रवेश गर्नुको विकल्प देखिएको छैन।
झापाका जंगलनजिक कच्ची घर हुने बस्तीहरूमा हात्तीको आक्रमणबाट मानिसहरूको मृत्यु हुने गरेको छ भने घाँस-दाउरा, च्याउजस्ता वस्तुको खोजीका लागि जंगलमा जाने क्रममा समेत मानिसको मृत्यु हुने गरेको छ। जंगल क्षेत्रमा मानव-वन्यजन्तु द्वन्द्वबाट उत्पन्न समस्याहरू बेला मौकामा देखिए पनि जंगल नभएका आवास र कृषि क्षेत्रहरूमा समेत वन्यजन्तु विशेषगरी हात्तीले गर्ने ध्वशंका कारण जीवनयापनसमेत कठिन हुने देखिएको छ।
मेचीनगर नगरपालिका मुलक कृषक समूहका अध्यक्ष एवं अगुवा कृषक पूर्णबहादुर खड्का र उहाँको टिमले मंसिरमै अन्ना स्क्वास जातको फर्सीको बीउ उत्पादनका लागि करिव ३ कठ्ठा जमिनमा खेती गरेको थियो। भारतको बीउविजन उत्पादनमा ख्यातिप्राप्त कम्पनी नामधारीले फर्सीको बीउ उत्पादन भएपश्चात करिब ५ हजार प्रतिकिलोमा बीउ खरिद गरिदिने भन्ने सम्झौताअनुसार नेपालमै पहिलोपल्ट यो जातको बीउ उत्पादन गर्ने लक्ष्यका साथ जुटेका कृषकहरूलाई कम्पनीले बीउ उत्पादन कार्यमा सहयोग पुगोस् भनेर ५० हजार रुपैयाँ दिएको थियो।
फर्सी गट्टा लागेका अवस्थामै एकपटक हात्तीले नष्ट गरेको थियो। र, बीउ तयार हुनै लागेको अवस्थामा चैत अन्तिममै जंगली हात्तीको हञ्जा प्रवेश गरी बाली पूरै नष्ट गरेको थियो। हाल उत्पादन हुन अपेक्षा गरिएको भन्दा १० प्रतिशत मात्रै बीउ भित्रिने भएको छ र बाँकी ९० प्रतिशत बीउ हात्तीले नष्ट गरिदिएको छ। कृषकको मिहिनेत र आशा गरिएको बीउको उत्पादन हुन नसक्दा कृषकहरू निराश भएका छन्।
कृषकको क्षतिका लागि राहत तथा क्षतिपूर्तिका लागि बीमा हुने हो तर नेपालमा कृषि क्षेत्रमा बीमा गर्ने भने पनि हात्तीले नष्ट गरेका क्षतिका लागि बीमा गर्न कम्पनीहरूले नमान्ने भएका कारण कृषकहरूले लगाएको बालीको क्षतिपूर्ति हुन नसक्ने अवस्था छ। मेचीनगर-४ मा घरहरूको बीमा गरिएको छ तर बाली बीमा गरिएको छैन। ९० प्रतिशतभन्दा पनि बढी घरहरू पक्की संरचना भएका कारण बीमा कम्पनीहरूले घरको बीमा गर्ने गरेका प्रष्टै छ। पक्की घरहरू अपवादको रूपमा मात्रै हात्तीले भत्काउने बुझेका बीमा कम्पनीहरूले घरको मात्रै बीमा गरेका हुन्।
यस्तै, अन्न बालीमा हात्तीले गरेको क्षतिमा राहत दिने गरिएको छ तर तरकारी बालीमा राहत दिने व्यवस्था नभएको कृषक पूर्णबहादुर खड्का बताउँछन्। अन्न बालीमा दिने राहतसमेत अत्यन्तै झण्झटिलो रहेको पीडितहरूको गुनासो छ। क्षतिको मूल्यांकन जिल्ला वन कार्यालयले गर्ने र त्यसको राहत रकम सम्बन्धित व्यक्तिको नाममा रहेका बैंक खातामा दिने गरेका छन्। यस्तो राहत रकम पाउनका लागि धाउँदा र बैंक खाता खोल्ने अनेकन झमेलाका कारण राहतले आहत बनाउने कृषकहरूको गुनासो छ।
मानव-हात्ती द्वन्द्व न्यूनीकरणमा स्थानीय सरकारहरूले प्रभावकारी रूपमा काम गर्नुपर्ने भए पनि ती कुनै प्रभावकारी देखिएका छैनन्। स्थानीय सरकारले क्षतिपूर्तिको आवश्यक बन्दोबस्त गर्न सक्ने गरी काम गर्ने हो भने कृषकहरूमा आशाको सञ्चार हुने थियो। आफ्नो क्षेत्रभित्र भएका वनहरूमा हात्तीले खाने खालका वनस्पति रोप्ने हो भने वनबाट मानव बस्तीमा हात्तीको प्रवेश न्यून गर्न मद्दत पुग्ने थियो। तर, वनहरू समुदायको जिम्मामा रहने र वन क्षेत्रहरूमा प्राकृतिक अवस्थाको विनास गरी बरु पिकनिक स्पटहरू खोल्ने प्रतिस्पर्धा बढेको देख्न सकिन्छ।
समग्रमा न त संरक्षण साझेदारहरू र अभियन्ता न सरकार, कोही पनि वन्यजन्तुको आहारा र वासस्थानको व्यवस्थापनतर्फ लागेका छैनन्। यसले वन क्षेत्रनजिक रहेका खेतीयोग्य जमिनहरूमा कृषकहरूले खेती गर्न छाडेका छन्। जसका कारणबाट हात्ती क्रमशः मानव बस्तीतर्फ प्रवेश गरेको प्रष्ट छ। यस्तो अवस्थामा जति नै मानव-हात्ती सहअस्तित्वका कुराहरू गरे पनि कुरामै मात्र सीमित रहने पक्का छ। आहारा र वासस्थानको सुरक्षा र प्रबन्ध नगर्ने हो भने भविश्यमा अझ धेरै मानव तथा हात्तीको विनाश हुने पक्का छ। यस्तो अवस्थामा हात्ती तथा मानव क्षति भएको अवस्थामा अनेक राग अलाप्नुको कुनै अर्थ हुने छैन।